काठमाडौँ । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली काँग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
आज बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित प्रस्तुत हुन काँग्रेस शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा सुरु हुने बैठकमा सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा काँग्रेसको अडानबारे छलफल हुने एक नेताले जानकारी दिए ।
सरकारको पहिलो चरणको नेतृत्व काँग्रेसले लिने कि माओवादीले भन्ने विषयमा सत्ता गठबन्धनमा एकमत हुन सकेको छैन ।