काठमाडौँ । नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाईल्ड कार्ड प्राप्त गरेकी छिन् । यसका साथै अहिले सम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल ५ पुगेको छ ।
पौडी, एथलेटिक्स, सुटिङ, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्स अनिवार्य सहभागी हुने भएता पनि सुटिङ, तेक्वान्दो (पारा) र जुडोले वाईल्ड कार्ड मार्फत सहभागिता जनाउने भएको हो ।
सोनियाले ४८ केजी मुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटीका सचिव एवं नेपाल जुडो सङ्घका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जानकारी गराए । उनले दुई खेलाडी इन्द्र बहादुर श्रेष्ठ र सोनियाको लागि पहल गरिएकोमा सोनियाले वाईल्ड कार्ड प्राप्त गरेको बताए ।
नेपाल पुलिसमा आबद्ध सोनिया हालै नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुदकी कास्य पदक विजेता खेलाडी हुन् । सोनियाले २०१९मा बङ्गलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेट तर्फ ४४ केजीमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् ।
२०१९ मा मोरोक्कोमा आयोजना भएको विश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अङ्क बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाईल्ड कार्ड प्राप्त गर्न सफल भएको अध्यक्ष बज्राचार्यले जानकारी गराए ।
सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौँ खेलाडी भएकी छिन् । यस अघि जुडोबाट १९८८ सिओल ओलम्पिकमा रिषीराम प्रधान र गङ्गाबहादुर डङ्गोलले सहभागिता जनाएका थिए । यस्तै चाइनाको बेईजिङ्ग ओलम्पिकमा देवु थापा र रियो ओलम्पिकमा फुपुल्हामु खत्रीले सहभागिता जनाएका थिए ।