सर्वोच्चका न्यायाधीश र कर्मचारीहरू होम आइसोलेसनमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सर्वोच्चका न्यायाधीश र कर्मचारीहरू होम आइसोलेसनमा


प्रशासन संवाददाता

१८ आश्विन २०७७, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीहरू होम आइसोलेसनमा बसेका छन् । एक न्यायाधीश र कर्मचारीमा कोरोना देखिएपछि सर्वोच्चका अन्य सबै न्यायाधीश र कर्मचारीहरू होम आइसोलेसनमा बसेका हुन् ।

केही बेर अघि सर्वोच्च अदालतले सूचना जारी गर्दै न्यायाधीशहरुलगायत केही अधिकृत र कर्मचारीहरू कोरोना भाइरसबाट सङ्क्रमित भएको र त्यसबाट प्रभावित न्यायाधीशहरू तथा कर्मचारीहरू होम क्‍वारेन्टाइनमा रहेको जानकारी गराएको छ ।

गत बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठकमा सहभागी एक न्यायाधीशलाई शुक्रवार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उक्त बैठकमा प्रधानन्यायाधीशसहित १७ जना न्यायाधीश सहभागी रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

न्यायाधीशहरू सबै होम आइसोलेसनमा बसेपछि आइतबारको इजलास पनि प्रभावित बनेको छ । आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा मात्र पेसी तोकिएको छ ।

दैनिक ८ देखि ९ ओटा इजलास तोकिने गरेकामा कोरोनाका कारण आज एउटा मात्रै इजलास तोकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस