काठमाडौँ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट २ करोड ४८ लाख भन्दा बढी मानिस मुक्त भएका छन् । चीनको वुहानबाट फैलिएको कोभिड–१९ बाट सङ्क्रमित भई उपचार गराइरहेका विश्वका २ करोड ४८ लाख ७७ हजार २ सय २३ जनसङ्ख्या कोरोना मुक्त भइसकेको कोरोना भाइरस विश्व अपडेट ओल्डोमिटरले जानकारी गराएको छ ।
ओर्ल्डोमिटरका अनुसार मङ्गलवार बिहानसम्म विश्वभर ३ करोड ३५ लाख ४८ हजार ७ सय ७० जनसङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १० लाख ६ हजार ३ सय ५९ जनाले ज्यान गुमाइसकेका छ ।
हाल ७६ लाख ६५ हजार १८८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ७५ लाख ९९ हजार ८ सय ३९ को अवस्था सामान्य रहेको र ६५ हजार ३ सय ४९ को अवस्था गम्भीर रहेको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा करिब ४६ लाख बढीले कोरोना जितेका छन् भने २५ लाख भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये १४ हजार बढीको अवस्था गम्भीर रहेको बताइएको छ ।
नेपालको छिमेकी मुलुक भारत पनि विश्वको दोस्रो कोरोना प्रभावित देश बनेको छ । भारतमा हालसम्म ६१ लाख ४३ हजार बढी जनसङ्ख्या कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये ९६ हजार बढीले ज्यान गुमाइसकेका छन् भने ५० लाख ९८ हजार बढी निको भइसकेका छन् । हाल भारतमा ९ लाख ४८ हजार सक्रिय सङ्क्रमित रहेका छन् । ८ हजार ९ सय बढीको अवस्था गम्भीर रहेको बताइएको छ ।
यस्तै नेपालमा ५४ हजार ६ सय ४० जनाले कोरोना जितेका छन् । १९ हजार ६ सय २४ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएका छ ।