काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।
बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘सचिवालयले पार्टीका उपाध्यक्ष कमरेड वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने र त्यसका लागि पहल गर्ने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।
प्रतिनिधि सभामा आएपछि प्रधानमन्त्री बन्ने ध्येय पनि स्वाभाविक रूपमा यसमा रहेको प्रवक्ता श्रेष्ठले प्रस्ट पारे ।
बैठकले यही वैशाख २५ गते काठमाडौँमा नै बस्ने गरी स्थायी कमिटी बैठक समेत बोलाएको छ भने स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न त्यसको एक दिन अघि अर्थात् वैशाख २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
पार्टी, सरकार तथा सम्बन्धित क्षेत्रहरूमा भए गरेका कमीकमजोरीका बारेमा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य नेताहरूले पनि सोही अनुसार आत्मालोचना गर्दै अगाडी बढ्ने सङ्कल्प गरेको पनि श्रेष्ठले बताएका छन् ।
त्यसैगरी नेकपामा तीन वटा अध्यक्ष बनाउने विषयमासमेत सामान्य छलफल भएको छ। तर छलफलमा तीन अध्यक्ष बनाउने विषयमा माधवकुमार नेपालले असहमति जनाएका छन्।