भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० शंकरपुर नाकामा गोली चलेको छ।
भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका भारतीय नागरिक धिरज धोवीलाई पक्राउ गरी नेपाल ल्याउने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो।
सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए।
भारतको महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका ५० वर्षीय धीरज धोवीले ‘मेड ईन युएसए’ लेखिएको अटोमेटिक पेस्तोल नेपाल ल्याउदै गर्दा प्रहरीले बोर्डर क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो।
नेपाल ल्याउँदै गर्दा धोवीले स्थानियसँग हार गुहार गरेका थिए। यसपछि स्थानियले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको रुपन्देही प्रहरीले जनाएको छ।
‘प्रहरीले पक्राउ गरी ल्याएका हतियारधारी व्यक्तिले गुहार मागेपछि भारतीयहरु नेपालको सीमाक्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए,ु रुपन्देहीका डीएसपी धर्मराज भण्डारीले भने, ‘प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो।’
प्रहरीले चलाएको गोली लागेर महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका २०/२१ दीलिप धोवी घाईते भएका छन्। उनको पेटमा गोली लागेको छ।
घाईते धोवीको महाराजगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्रोतका अनुसार घाइते पक्राउ परेका धोबीका भतिज दीलिप हुन्।
प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ। आक्रमणमा ३ जना प्रहरी घाइते भएको छन्।