विराटनगर । प्रेम विवाह गर्दा एक युवक जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् । १४ वर्षकी किशोरीसँग प्रेम विवाह गरी भागेका युवक पक्राउ परेका हुन् ।
सप्तरी राजविराज नगरपालिका–१४ गोर्खाली टोल घर भई विराटनगर–१४ बस्दै आएका ३० वर्षका दीपक राउत जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका हुन् ।
कानुनले २० वर्ष भन्दा कम उमेरमा हुने विवाहलाई बर्जित गरेको छ, त्यस्तै १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै यौन सम्पर्क गरेमा पनि कसूर मानिन्छ ।
किशोरी १४ वर्षकी मात्र भएकाले पीडित परिवारको उजुरीका आधारमा राउतलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गत फागुन ५ गते विराटनगर महानगरपालिका– १३ बस्दै आएकी १४ वर्षकी किशोरी हराएको भन्दै फागुन ६ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी परेको थियो ।
दुई महिना खोजी गरेको प्रहरीले किशोरी र युवकलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।
बजार जान्छु भनी हराएकी किशोरीलाई दीपकले प्रेम विवाह गरी काठमाडौं पूर्याएका थिए । महाननगरीय प्रहरी कार्यालय वृत्त गौशालाको समन्वयमा काठमाडौं महानगरपालिका– ९ स्थित तिलगंगा एरियामाबाट पक्राउ गरी वैशाख ५ गते विराटनगर ल्याएको थियो ।
प्रहरीले किशोरीलाई आफन्तको जिम्मा लगाएर युवकलाई जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।