काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकाल देखि नै अनुसन्धानमा पोख्त भएको बताएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
विद्वान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरिले नेपालीहरुलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हाम्रा पुर्खाले आफ्नो अभ्यासलाई सैद्धान्तिकिरण गर्न सकेनन्’ प्रधानमन्त्री ओलीले भने ‘तर उनीहरुले अध्ययन अनुसन्धान गरेरै धेरै कुरा पत्ता लगाएर त्यसको उपयोग दैनिक जीवनमा गरे ।
जंगलका झारपातलाई जडिबुटीको रुपमा प्रयोग गर्नु त्यसकै एउटा उदाहरण हो ।’
प्रधानमन्त्री ओलीले नेपालीहरु हिनग्रन्थी लिएर हिड्न नुहने बताएका छन् । ‘हामी गरिव छौं,अविकसित देशमा छौं भनेर हामीले हिनग्रन्थी पाल्नु पर्दैन’ प्रधानमन्त्री ओलीले भने’हामी विद्वान पूर्खाका सन्तान हौं । केही समयसम्म शासकको कमजोरी अलि पछि परिएको हो । तर अब त्यस्तो अवस्था रहदैन ।’
प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई नयाँ नयाँ अनुसन्धानमा लाग्न सुझाएका छन् । ‘समृद्ध नेपाल,सुखी नेपालीलाई गन्तव्यमा राखेर अनुसन्धानका कामहरु अघि बढाउनुहोस । तपाईंहरुका अनुसन्धानबाट देशले लाभ लिन सक्नुपर्दछ ‘ प्रधानमन्त्री ओलीले भने ।