काठमाडौँ। सिंहदरवारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छलफलमा सहभागी माओवादी सांसद हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरा आफ्नो पार्टीले राखेको जानकारी दिए ।
संसद् बैठकमा माओवादीसहितले निरन्तर अवरोध गर्दै गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।
‘हामीले जो विषयवस्तु राखेका छौँ । त्यो यथावत् नै छ । सुशासनलाई केन्द्रित गरेर अघि राख्नुपर्छ भनेका छौँ । जुनकुरा हामीले सदनमा राखेका छौँ । त्यही विषयवस्तु हो,’ पाण्डेले बैठकपछि भने, ‘भिजिट भिसामा जसरी गडबड भएको छ, त्यसलाई गृहमन्त्रीज्यूले हल गर्नका लागि अनुसन्धान गर्नका लागि मार्गप्रशस्त गर्नुपर्छ भनेका छौँ ।’
बैठकमा प्रधानमन्त्री ओलीले संसद् खोलेर अघि बढ्न आग्रह गरेको उनले बताए ।
‘अब राजीनामा होइन संसद् खोलेर अघि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो । हाम्रो तर्फबाट सुशासनको विषयवस्तु महत्त्वपूर्ण हो भन्यौँ,’ पाण्डेले बैठकपछि भनेका छन् ।
कर्मचारीको कुरा भएकाले राजीनामा दिनु नपर्ने प्रधानमन्त्री लगायत सत्तारुढ दलका नेताहरूले कुरा राखेको पाण्डेको भनाइ छ ।