काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका छन् ।
संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै उनले सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए । मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको महतले बताए ।
‘हामीले संविधान संशोधनका विषयहरू अगाडी बढाउनुपर्छ भनेर सरकारले भनेको हो । संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो । सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ,’ महतले भने ।
जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको उनको भनाइ थियो । प्रवक्ता डा. महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्नेमा जोड दिए ।
‘यो संविधान कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैँले दिएको निर्माण गरेको संविधान हो । आफ्ना प्रतिनिधिहरूको माध्यमबाट निर्माण गरेको संविधान भएको हुनाले यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ,’ उनले भने ।