सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । भोटखोला-३ मा दुई वटा जलविद्युत् आयोजना बगाउँदा दुई सय ५० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
शनिबार रातिको वर्षासँगै आएको बाढीले भोटखोला-३ स्थित एक सय २० किलोवाटको हुङगुङ जलविद्युत् आयोजना र १७ किलोबाट क्षमताको क्षुक्सुम लघु जलविद्युत् आयोजना बगाउँदा सिंगो गाउँ नै अन्धकार भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । बाढीले विद्युत् गृह र विद्युत् उत्पादन गर्ने सामग्रीमा क्षति पुर्याउँदा गाउँ अन्धकार भएको बिजुलीविहीन भएको हो ।
बाढीले जलविद्युत् आयोजना बगाउँदा करोडौँ रुपैयाँको क्षति भएको छ । बाढीका कारण ध्वस्त भएको विद्युत् गृह बनाउन र पुनः बिजुली बाल्न समय लाग्ने अध्यक्ष भोटेले बताए । त्यस्तै गरी बाढीले कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथांका सडक खण्डको भोटखोला-३ हटिया र हुङहुङ सडक बगाएको छ । बाढी खाँदबारी–किमाथांका सडक खण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । बाढीले खाँदबारी-किमाथांका सडक खण्डमा करिब ५० मिटर कच्ची सडक बगाएको छ ।