काठमाडौँ। साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकको निधन भएको छ ।
हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको हो । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए ।
रसिक बहुआयमिक व्यक्ति थिए । उनका ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ हरू कालजयी गीत हुन् ।
‘क्षितिजलाई छुन खोज्दा (कथासंग्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, पाँच पुस्तकको ‘पेरुङ्गो’ (संस्मरण) लगायत रसिकका प्रकाशित किताब हुन् ।
रसिककी छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।