सामान्य परिचय:
सिंगापुर दक्षिणपूर्वी एसियामा रहेको एउटा सानो तर धेरै विकसित र समृद्ध देश हो। मलेसिया र इन्डोनेसियासँग सीमा जोडिएको यो देशको राजधानी सहर सिंगापुर नै हो। करिब ५.५ मिलियन जनसंख्या भएको यो देश बहुभाषिक, बहुसांस्कृतिक र आधुनिक सुविधाले भरिपूर्ण छ। यो व्यापार, वित्त, शिक्षा र प्रविधिको प्रमुख केन्द्रका रूपमा विश्वमा चर्चित छ। यहाँ अंग्रेजी, मलाय, मन्दारिन र तमिल भाषा बोलिन्छ। स्वच्छता, सुरक्षा, कडा कानुनी व्यवस्था र प्रभावकारी प्रशासन सिंगापुरका मुख्य विशेषता हुन्। सीमित प्राकृतिक स्रोत भए पनि सिंगापुरले उत्कृष्ट योजना, सुशासन र प्रविधिको प्रयोगबाट विश्वको सफल र समृद्ध देशका रूपमा आफूलाई स्थापित गरेको छ। यस देशका पिता लि क्वान यूलाई मानिन्छ।
विषय प्रवेश:
सिंगापुरको इतिहास एउटा असम्भवलाई सम्भव बनाउने सत्य कथा हो। सन् १९६५ मा स्वतन्त्र हुँदा यो सानो, स्रोतविहीन टापु विश्वका गरिब देशहरूमध्ये एक थियो। तर आज यो एसियाको आर्थिक शक्ति बनेको छ। यसको विकासमा लि क्वान यू जस्ता दूरदर्शी नेतृत्व, कडा अनुशासन र योजनाबद्ध नीतिहरूको ठूलो भूमिका छ। सिंगापुरजस्तै सानो र बहुजातीय, बहुभाषिक, बहुधार्मिक समाज भएको नेपालले पनि विकासको सपना बोकेर यहाँसम्म आइपुगेको छ। तर, राजनीतिक अस्थिरता, भ्रष्टाचार र दीर्घकालीन योजनाको अभावले नेपाल अझै पछाडि छ। सिंगापुरले जातीय एकता, शिक्षा र विदेशी लगानीमा जोड दिएर आफ्नो भाग्य बदल्यो, तर नेपालले राजनीतिक विभाजन, अस्थिरता, भ्रष्टाचार र छोटो सोचका कारण आफ्नो सम्भावना सीमित गर्यो। यो लेखमा हामी सिंगापुरको उदय र संघर्षपूर्ण इतिहासबाट नेपालले के सिक्नुपर्छ, त्यसबारे छलफल गर्नेछौं।
“सानो देशले पनि ठूलो सपना देख्न सक्छ, यदि त्यहाँ दृढ इच्छाशक्ति र योजनाबद्ध नेतृत्व छ भने।”— लि क्वान यू
सिंगापुरमा उपनिवेशको सुरुवात:
ओसियाना, अस्ट्रेलिया, चीन, जापान, कोरिया, दक्षिण कोरिया, भारत, अफ्रिका आदि देशहरू जाने समुद्री बाटो सिंगापुर भएर जान्छ। यातायातको मुख्य केन्द्र भएकाले बेलायतीहरू यो भूमिप्रति व्यापारिक उद्देश्यले आकर्षित भए। त्यसैले सर स्टामफोर्ड राफल्सले २९ जनवरी १८१९ मा सिंगापुरमा बेलायती व्यापारिक चौकी स्थापना गरे, जुन त्यतिबेला जोहोर सल्तनतको अधीनमा थियो। बेलायतीहरूले यसलाई व्यापारिक केन्द्रका रूपमा विकास गरे। सन् १८२४ को एंग्लो-डच सम्झौतापछि सिंगापुर पूर्ण रूपमा बेलायतको नियन्त्रणमा आयो।
दोस्रो विश्वयुद्धमा जापानले १५ फेब्रुअरी १९४२ देखि १९४५ सम्म सिंगापुर कब्जा गर्यो र यसलाई “स्योनान-टो” (शोनान द्वीप) नाम दियो। केवल १० हजार जापानी सैनिकले सिंगापुरमा रहेका ६४ हजारभन्दा बढी बेलायती, अस्ट्रेलियाली र भारतीय सैनिकलाई कब्जामा लिए। त्यसपछि जापानी सेनाले बन्दी सैनिक र स्थानीय बासिन्दामाथि क्रूर नरसंहार गर्यो। सिंगापुर लाशको थुप्रो बन्यो। बाँकी संरचनाहरू भत्काइयो, आगो लगाइयो र सिंगापुर खण्डहरमा परिणत भयो।
जापानको उग्र व्यवहार नियन्त्रण गर्न ६ अगस्ट १९४५ मा अमेरिकाले जापानको हिरोसिमामा शक्तिशाली आणविक बम प्रहार गर्यो। स्थानीय समयअनुसार बिहान ८:१५ मा युरेनियम-२३५ आधारित बम “लिटल ब्वाय”, जसको विनाशकारी क्षमता १३–१८ किलोटन टीएनटी बराबर थियो, प्रहार गरियो। यसले तत्काल ७०,०००–८०,००० मानिसको ज्यान लियो, र घाइतेहरूको मृत्युको संख्या अन्ततः १४०,००० पुग्यो। त्यस्तै, ९ अगस्ट १९४५ मा नागासाकीमा प्लुटोनियम-२३९ आधारित बम “फ्याट म्यान”, जसको क्षमता २१ किलोटन टीएनटी बराबर थियो, दिउँसो ११:०२ मा प्रहार गरियो। यसले तत्काल ४०,०००–७५,००० मानिसको ज्यान लियो, र घाइतेहरूको मृत्युको संख्या अन्ततः ७४,००० पुग्यो। यस्तो विनाशबाट विचलित भएर जापानले आत्मसमर्पण पत्र (इन्स्ट्रुमेन्ट अफ सरेण्डर) मा हस्ताक्षर गर्यो, र २ सेप्टेम्बर १९४५ मा दोस्रो विश्वयुद्ध औपचारिक रूपमा समाप्त भयो।
युद्धपछि जापान सिंगापुरबाट हट्यो, तर सिंगापुर फेरि बेलायतीहरूको हातमा पुग्यो। युद्ध, अशान्ति, गरिबी, बेरोजगारी र अभावले सिंगापुर निकै कमजोर अवस्थामा पुगिसकेको थियो। जताततै लाशको थुप्रो र जलेर खरानी भएको खण्डहरमा परिणत भएको थियो। त्यहाँ न सरकार थियो, न कुनै संरचना, बन्दरगाह, वा कारखाना। एक छाक खान पनि लडाइँ गर्नुपर्ने, दंगा र हिंसा मच्चिने अराजक अवस्थामा सिंगापुर पुगिसकेको थियो।
बिस्तारै विश्वभर बेलायती उपनिवेश र शोषणविरुद्ध आन्दोलनहरू सुरु भए।
बेलायतबाट स्वतन्त्र हुने लहर चल्न थाल्यो। त्यतिबेला छिमेकी देश भारतमा पनि स्वतन्त्रताको आन्दोलन चर्किरहेको थियो। विस्तारै भारत, पाकिस्तान, मलेसिया, बर्मा, कुवेत, जोर्डन, इजरायल, साइप्रसजस्ता देशहरू बेलायती उपनिवेशबाट मुक्त भए। तर सिंगापुर नेतृत्वविहीन थियो। चिनियाँ र अन्य समुदायका अराजक तत्वहरूले लुटपाट गर्न थाले, र जातीय दंगा सुरु भयो। सिंगापुरमा जसले जे गरे पनि हुने अवस्था बन्यो। स्थिति दिनदिनै बिग्रँदै गएको बेला एक्कासि आशालाग्दो नेतृत्वको उदय भयो। बेलायतमा कानुन पढेर सिंगापुरको कायापलट गर्ने लक्ष्य बोकेर फर्किएका युवा थिए, लि क्वान यू, जसलाई सिंगापुरका पिता मानिन्छ। उनले ३१ वर्षको उमेरमा पिपल्स एक्सन पार्टी (पीएपी) गठन गरे र सन् १९५९ मा बेलायतीले घोषणा गरेको निर्वाचनमा भाग लिए। उनको पार्टीले प्रस्ताव गरेको सिंगापुरको विकास मोडलका एजेन्डा जनतामाझ यति लोकप्रिय भए कि ५१ सिटमध्ये ४३ सिट पीएपीले जित्यो। ३४ वर्षको उमेरमा लि क्वान यू सिंगापुरका पहिलो प्रधानमन्त्री बने।
सिंगापुरले नयाँ नेतृत्व पायो, तर देशको अवस्था यति बिग्रिएको थियो कि कहाँबाट सुरु गर्ने भन्ने जटिल स्थिति थियो। सिंगापुरमा मुख्यतः भारतीय, चिनियाँ र मलेसियन समुदायका मानिसहरू थिए, जो एकअर्कालाई सहनै सक्दैनथे। लि क्वान यूले बहुसंख्यक चिनियाँ समुदायको मत पाएर जितेका थिए, र उनलाई कम्युनिस्ट विचारधाराबाट प्रेरित भएको आरोप लाग्यो। उनलाई निरंकुश भएको आरोप पनि लाग्यो। विस्तारै अन्तर्राष्ट्रिय लगानी आउन बन्द भयो, र खुल्न लागेका उद्योगहरू मलेसियातिर सर्न थाले। राज्यसँग न पैसा थियो, न वैदेशिक सहयोग, न दक्ष जनशक्ति। भएका उद्योगहरू पनि गइरहेपछि जनतामा ठूलो असन्तुष्टि र निराशा छायो। सिंगापुर एक्लै अघि बढ्न नसक्ने अवस्थामा पुग्यो।
लि क्वान यूको अप्रत्याशित निर्णय:
यही बेला प्रधानमन्त्री लि क्वान यूले एउटा अनपेक्षित र अकल्पनीय निर्णय लिए। १६ सेप्टेम्बर १९६३ मा सिंगापुरलाई मलेसियाको एक प्रान्त बनाउने, तर स्वशासित रहने सर्तमा मलेसियामा गाभ्ने निर्णय गरे। दुईतिहाइ बहुमत भएको शक्तिशाली प्रधानमन्त्रीले आफ्नो स्वतन्त्र देशलाई अर्को देशमा गाभेर प्रान्त बनाउने कुरा निकै विवादास्पद थियो। बाहिरबाट हेर्दा यो राष्ट्रघाती र देशद्रोही कदमजस्तो देखिन्थ्यो। आजको समयमा यस्तो निर्णय गर्ने नेतृत्वलाई लेण्डुप प्रवृत्तिको संज्ञा दिएर आलोचनाको वर्षा हुन्थ्यो। (लेण्डुप दोर्जे सिक्किमका अन्तिम प्रधानमन्त्री थिए (सन् १९७५–१९७९)।
भारतको रणनीति र दबाबमा सिक्किममा जनमतसंग्रह (रेफरेन्डम) भयो, जसमा ९७% भन्दा बढी मतदाताले भारतमा विलयको समर्थन गरेको देखाइयो। त्यसपछि भारतले संविधानको ३६औँ संशोधनमार्फत सिक्किमलाई आफ्नो २२औँ राज्य घोषणा गर्यो। भारतको इशारामा लेण्डुपले स्वतन्त्र सिक्किमलाई भारतमा गाभेकोले राष्ट्रघाती घटनामा लेण्डुप प्रवृत्तिको उपमा दिइन्छ। लि क्वान यू र लेण्डुपबीच केही सतही समानता देखिए पनि दुवैको भूमिका, उद्देश्य र ऐतिहासिक योगदान फरक छ।)
यो कदमविरुद्ध चर्को विरोध र नाराबाजी भयो। तर लि क्वान यूको यो निर्णयमा ठूलो देशभक्ति र सिंगापुरको उज्ज्वल भविष्यको योजना लुकेको थियो। यो निकै साहसिक र दूरगामी निर्णय थियो। उनको सोच थियो कि मलेसियाको प्रान्त बन्दा सिंगापुरले विश्वव्यापी व्यापारमा स्वतन्त्र रूपमा भाग लिन पाउनेछ, वैदेशिक लगानी भित्रिनेछ, नयाँ उद्योगहरू खुल्नेछन्, व्यापार फस्टाउनेछ, र विकासको लहरले जनताले सुख र समृद्धि पाउनेछन्। उनले राजनीतिलाई भन्दा जनताको सुखलाई प्राथमिकता दिए, प्रत्येक नागरिकको जीवनको महत्व बुझे, र उनीहरूको जीवनस्तर कसरी उकास्ने भन्ने सोचे।
मलेसियाको व्यवहार:
तर मलेसियाले लि क्वान यूको सोचविपरीत सिंगापुरलाई पराइको व्यवहार गर्न थाल्यो। मलेसियाले सिंगापुरमा सहनै नसक्ने गरी कर बढायो, भेदभावपूर्ण कानुन ल्यायो, र सिंगापुरवासीको शोषण गर्यो। सिंगापुर मलेसियामा गाभिएको पहिलो वर्ष (सन् १९६४) मा नै मलाय र चिनियाँ समुदायबीच दुई ठूला हिंसात्मक घटना भए। २१ जुलाई १९६४ को दंगामा, मुहम्मद पैगम्बरको जन्मदिन (मौलिदुर रसूल) मनाइरहेका मलाय मुस्लिमहरूलाई केही चिनियाँ युवाले उक्साएको आरोप लाग्यो।
कम्पोङ मेरुमा झगडा सुरु भयो, र यो हिंसा कालाङ र गेलाङसम्म फैलियो, जसमा ३६ जना मारिए र ५०० भन्दा बढी घाइते भए। त्यस्तै, सेप्टेम्बर १९६४ मा फुटबल म्याचपछि सानो स्तरको अर्को हिंसात्मक दंगा भयो, जसमा १३ जना मारिए। मलेसिया सरकारले कर्फ्यू लगायो र सिंगापुरमा सेना तैनाथ गर्यो। यी दंगाले सिंगापुरका चिनियाँ बहुसंख्यक र मलेसियाका मलाय बहुसंख्यकबीच सामाजिक मात्र होइन, सिंगापुर र मलेसियाबीच राजनीतिक द्वन्द्व पनि चर्कायो।
मलेसिया र सिंगापुरको तनाव:
दंगा भएमा सबै दोष सिंगापुरलाई लगाइन्थ्यो। सिंगापुरका नेता लि क्वान यूले मलेसियाली नेतृत्व (यूएमएनओ) माथि “जातीय भेदभाव” को आरोप लगाए, भने मलेसियाले सिंगापुरलाई “अशान्तिको कारण” ठहर्यायो। मलेसियामा मलाय बहुसंख्यकलाई बुमिपुत्रा (मूल निवासी) भनिन्थ्यो, र सरकारले अनौपचारिक रूपमा “बुमिपुत्रा नीति” लागू गरेर मलायलाई प्राथमिकता दियो। (औपचारिक रूपमा यो नीति सन् १९७१ मा, सिंगापुर छुट्टिएपछि लागू भएको थियो।) यसले सिंगापुरका बहुसंख्यक चिनियाँमाथि भेदभाव गर्यो। लि क्वान यूको पार्टी पिपल्स एक्सन पार्टी (पीएपी) लाई मलेसियाली नेताहरूले “चिनियाँ-प्रभावित” भन्दै आलोचना गरे। यी आर्थिक, सामाजिक, जातीय र राजनीतिक तनावले सिंगापुर मलेसियाबाट अलग हुनुपर्ने अवस्थामा पुग्यो।
शान्ति, सुरक्षा र विकासको आशामा मलेसियामा गाभिएको सिंगापुरमाथि मलेसियाले शोषण, दमन र अत्याचार गरेपछि सिंगापुरका जनता र नेता छुट्टिने निष्कर्षमा पुगे। मलेसियाली प्रधानमन्त्री टुन्कु अब्दुल रहमान र सिंगापुरका नेता लि क्वान यूबीच गम्भीर मतभेद भयो। अन्ततः मलेसियाले सिंगापुरलाई निष्कासन गर्ने निर्णय गर्यो। सन् १९६३ मा मलेसियामा गाभिएको सिंगापुर ९ अगस्त १९६५ मा बाध्यताले स्वतन्त्र भयो। मलेसियाबाट छुट्टिएको दिन लि क्वान यूले रुँदै भने, “मेरो सम्पूर्ण वयस्क जीवन दुखमा बित्यो, मैले मलेसियामा गाभिनुमा विश्वास गरे, यो मेरो जीवनको सबैभन्दा दुखद दिन हो।” उनको त्यो रुँदै दिएको अन्तर्वार्ता अहिले पनि युट्युबमा हेर्न सकिन्छ (भिडियो लिंक-सीएनए: https://youtu.be/UET6V4YnAwc)। यसरी सिंगापुर मलेसियाबाट अलग भएर एउटा अध्याय समाप्त भयो।
सिंगापुरका चुनौतीहरू:
मलेसियाबाट अलग भएपछि सिंगापुर एउटा टुहुरो र कमजोर राष्ट्रका रूपमा उभियो। मलेसियाको सहाराले विकास र समृद्धिको आशा गरेको सिंगापुरले त्यहीँबाट लात खाएपछि घर न घाटको अवस्थामा पुग्यो। पानी, खाद्यान्न, कच्चा पदार्थ सबैमा सिंगापुर मलेसियामाथि निर्भर थियो। मलेसियाबाट बल्लतल्ल छुटकारा पाए पनि मलेसिया शत्रु बनिसकेको थियो, र छिमेकी इन्डोनेसियामा सैन्य शासन सुरु भएको थियो। आफ्नो सेना वा प्रहरी नभएको सिंगापुरलाई कतिबेला कसले निल्छ भन्ने डर थियो।
१६ सेप्टेम्बर १९६३ मा सिंगापुरले मलेसियन फेडेरेसन (फेडेरेसन अफ मलेसिया) सँग जोडिएर बेलायती शासनबाट औपचारिक स्वतन्त्रता पाएको थियो, तर बेलायती सेनाको उपस्थिति कायमै थियो। दोस्रो विश्वयुद्धपछि उपनिवेशवादविरुद्धको दबाब, आर्थिक बोझ र लि क्वान यूको पीएपी पार्टीको स्वशासन आन्दोलनले बेलायती सेनाले सिंगापुर छोड्ने घोषणा गर्यो। बेलायती सेना गएपछि सिंगापुरमा शान्ति र सुरक्षाको कुनै व्यवस्था नहुने, कुनै देशले कब्जा गर्न सक्ने, जातीय दंगा भड्कने, र हिंसा तथा अराजकता फैलने सम्भावना थियो। सिंगापुरमा गरिबी र बेरोजगारी बढ्ने खतरा थियो, किनभने आधाभन्दा बढी रोजगारी बेलायती सेनाबाटै आउँथ्यो।
उपलब्ध कारखानाहरू बन्द थिए, नयाँ खुल्ने सम्भावना थिएन। सुरक्षा संयन्त्र, सेना वा प्रहरी थिएन। जताबाट पनि आक्रमण हुन सक्ने डर थियो, र आक्रमण भएमा प्रतिकार गर्न सक्ने अवस्था थिएन। आत्मसमर्पणबाहेक सिंगापुरसँग कुनै विकल्प थिएन। शिक्षित र दक्ष जनशक्ति थिएन, प्राकृतिक स्रोत त झन् थिएन। अन्तर्राष्ट्रिय लगानीको सम्भावना शून्य थियो। एक छाक खान पनि लडाइँ गर्नुपर्ने अवस्थामा सिंगापुर पुगिसकेको थियो।
सन् १९६५ देखि १९७० सम्म सिंगापुरको स्वतन्त्रतापछिको समय आपतकालीन युग थियो। देशको जीडीपी (कुल ग्राहस्थ उत्पादन) लगभग शून्यमा झर्ने अवस्थामा थियो। चरम गरिबी, बेरोजगारी, शून्य राजनीतिक गतिविधि, दैनिक जातीय दंगा, अराजकता र सम्भावित सुरक्षा संकटले सिंगापुर गतिहीन र गन्तव्यहीन अवस्थाबाट गुज्रिरहेको थियो। लि क्वान यू, उनको पार्टी वा सरकारले पनि केही गर्न सकिरहेका थिएनन्। जनतामा सरकार र राजनीतिक दलप्रति आक्रोश बढेको थियो, तर लि क्वान यू र उनको सरकारमाथि विश्वास गर्नुबाहेक जनतासँग अर्को विकल्प थिएन।
सिंगापुर: “गरिब सानो देश” बाट “एसियन टाइगर”:
(लि क्वान यूको १९६५–१९७० को नीतिहरू नै आजको सिंगापुरको समृद्धिको आधार हो।)
कुनै संविधान, सैन्य बल वा आर्थिक योजना नभएको, र मलेसियाले आर्थिक नाकाबन्दीको धम्की दिइरहेको अवस्थामा लि क्वान यूको नेतृत्वमा पिपल्स एक्सन पार्टी (पीएपी) ले ९ अगस्ट १९६५ मा सिंगापुरको पहिलो आपतकालीन तर स्वतन्त्र सरकार गठन गर्यो। मलेसियाबाट अलग भएपछि लि क्वान यू र उनको सरकारले नीतिगत सुधारमा जोड दिए। उनको सबैभन्दा महत्त्वपूर्ण र दूरदर्शी निर्णय थियो— बेलायती सेनालाई आगामी १० वर्षसम्म सिंगापुरमै बस्न अनुरोध गर्नु। मलेसियासँगको शत्रुता र सैन्य शासन भएको विशाल देश इन्डोनेसियाबाट जोगिन यो निर्णय निकै आवश्यक र सान्दर्भिक थियो।
बाहिरबाट हेर्दा लि क्वान यूका निर्णयहरू विवादास्पद, देशद्रोही र राष्ट्रघाती देखिन्थे, चाहे सिंगापुरलाई मलेसियामा गाभ्ने निर्णय होस् वा बेलायती सेनालाई सिंगापुरमै बस्न अनुरोध गर्ने कदम। तर यो सच्चा देशभक्त नेतृत्वको दूरगामी सुरक्षा रणनीति थियो। उनले सिंगापुरको सर्वाङ्गीण विकासका लागि गरेका महत्त्वपूर्ण निर्णय र नीतिगत सुधारहरूलाई संक्षेपमा यसरी बुझ्न सकिन्छ:
सिंगापुरको स्वतन्त्रतापछिको सरकार निर्माण र सुधार (१९६५–१९९०):
९ अगस्ट १९६५ मा लि क्वान यूको नेतृत्वमा पिपल्स एक्सन पार्टी (पीएपी) ले सिंगापुरको पहिलो स्वतन्त्र सरकार बनायो। कुनै संविधान, सैन्य बल वा आर्थिक योजना नभएको, र मलेसियाले आर्थिक नाकाबन्दीको धम्की दिइरहेको अवस्थामा यो सरकार गठन भएको थियो। सन् १९६५ देखि १९६८ सम्म सरकारले आपतकालीन नीतिहरू जारी गर्दै एकपछि अर्को सुधार सुरु गर्यो।
संवैधानिक सुधार (१९६८–१९७०):
संसदीय प्रणाली स्थापना गरियो, तर सन् १९६८ को निर्वाचनमा पीएपीले ५८ मध्ये ५७ सिट जितेर एकदलीय नियन्त्रण कायम गर्यो।
पीएपी (पिपल्स एक्सन पार्टी) लाई एकमात्र प्रभावशाली पार्टी बनाइयो।
आन्तरिक सुरक्षा ऐन (आइएसए) प्रयोग गरेर विपक्षीहरूलाई कानुनी दबाब दिइयो।
राजनीतिक स्थिरताका लागि “एकदलीय प्रभुत्व” कायम गरियो।
कानूनको शासन:
कडा कानून बनाइयो। भ्रष्ट मन्त्री र अधिकारीहरूलाई जेल हालियो।
बन्द र हडताल पूर्ण रूपमा निषेध गरियो।
ट्रेड युनियनमा सरकारी नियन्त्रण राखेर श्रमिक बन्द, हडताल र अशान्ति रोक्�ियो।
च्युइङ गम खाने, थुक्ने जस्ता कार्यमा रोक र सार्वजनिक सफाइमा कडा जरिवाना लागू गरियो।
“म बिरामी अवस्थामा अस्पतालमा भए पनि वा मलाई चिहानमा पुर्याइए पनि, यदि सिंगापुरलाई कुनै खतरा महसुस गरेँ भने, म उठेर लड्न तयार हुनेछु।”— लि क्वान यू
रक्षा नीति: “सुरक्षित सिंगापुर”:
सन् १९६७ देखि अनिवार्य सैनिक सेवा (एनएस) लागू गरियो। इजरायलको सहयोगमा २ वर्षभित्र आधुनिक सेना गठन गरियो।
सिंगापुर सशस्त्र बल (एसएएफ) स्थापना गरेर ५०,००० सैनिक तयार गरियो।
“टोटल डिफेन्स” नीति लागू गरेर जनतालाई पनि सैन्य तालिम दिइयो।
सन् १९७१ सम्म बेलायती सेनाले सिंगापुर छोड्यो, र स्वतन्त्र रक्षा नीति बनाइयो।
राजनीतिक स्थिरता र जातीय एकताको नीति:
मलाय, चिनियाँ र भारतीयलाई “सिंगापुरी” पहिचान दिएर जातीय एकता कायम गरियो।
राष्ट्रिय पहिचान बलियो बनाउन अंग्रेजीलाई कार्यालय भाषा, मलायलाई राष्ट्रभाषा, र मन्दारिन तथा तमिललाई मान्यता दिइयो।
आर्थिक आपतकालीन नीति:
जुरोङ इन्डस्ट्रियल एस्टेटजस्ता औद्योगिक क्षेत्र विकास गरेर औद्योगिकीकरण गरियो।
वैदेशिक लगानी आकर्षित गर्न विदेशी कम्पनीहरूलाई ५–१० वर्षसम्म कर छुट र सहज व्यापार नीति लागू गरियो।
सिंगापुर डेभलपमेन्ट बोर्ड (ईडीबी) स्थापना गरेर जर्मनी, अमेरिका, जापानबाट उद्योग ल्याइयो।
बेलायती सेनाको फिर्तापछि बेरोजगार भएका ५०,००० जनालाई निर्माण, उद्योग र सेवा क्षेत्रमा रोजगारी दिइयो।
सन् १९६८ मा जुरोङ इन्डस्ट्रियल एस्टेट स्थापना गरेर पेट्रोकमिकल उद्योग सुरु गरियो।
सिंगापुर बन्दरगाह प्राधिकरण (पीएसए) लाई विश्वको सबैभन्दा व्यस्त बन्दरगाह बनाइयो।
निर्यातमा आधारित अर्थतन्त्रको विकास गरियो।
सामाजिक सुधार: “अनुशासन र एकता”:
हाउजिङ एन्ड डेभलपमेन्ट बोर्ड (एचडीबी) मार्फत ८०% जनतालाई सार्वजनिक आवासमा बसाइयो (१९६० को दशकमा २५% मात्र आवास थियो)।
दंगा रोक्न चिनियाँ, मलाय र भारतीय समुदायलाई मिश्रित रूपमा बसाइयो।
निःशुल्क प्राथमिक शिक्षा लागू गरियो। चिनियाँ बहुलता भए पनि अन्तर्राष्ट्रिय स्तरको जनशक्ति बनाउन अंग्रेजीलाई मुख्य माध्यम बनाइयो।
स्वास्थ्य केन्द्रहरू बनाएर शिशु मृत्युदर घटाइयो (सन् १९६५: ३५/१०००; सन् १९७०: २०/१०००)।
नानयाङ टेक्नोलोजिकल युनिभर्सिटी (एनटीयू) र नेशनल युनिभर्सिटी अफ सिंगापुर (एनयूएस) स्थापना गरियो।
सिंगापुरको आर्थिक उन्नति:
सन् १९७० देखि १९९० सम्म सिंगापुरले अभूतपूर्व आर्थिक वृद्धि हासिल गर्यो, जसले यसलाई विश्वको समृद्ध राष्ट्रहरूको सूचीमा पुर्यायो। सन् १९७० मा सिंगापुरको प्रतिव्यक्ति जीडीपी केवल ९०० डलर थियो, जुन विश्व औसतभन्दा कम थियो। तर लि क्वान यूको दूरदर्शी नेतृत्वमा औद्योगिकीकरण, वैदेशिक लगानी, शिक्षा, जनशक्ति विकास र कडा शासन नीतिहरूले सन् १९९० सम्म प्रतिव्यक्ति जीडीपी १२,००० डलर पुग्यो—यो १३ गुणा वृद्धि हो। यो अवधिमा जुरोङ औद्योगिक क्षेत्र, कर प्रोत्साहन र आधुनिक शिक्षा प्रणालीजस्ता सुधारले सिंगापुरको अर्थतन्त्र पूर्ण रूपमा बदलियो। केवल २० वर्षमा यो सानो, स्रोतविहीन टापु विश्वको प्रमुख आर्थिक शक्ति बन्यो।
लि क्वान यूको विदाइ र विरासत:
सन् १९९० पछि गो चोक टङले नेतृत्व सम्हाले, तर लि क्वान यू सिनियर मिनिस्टर बनेर सन् २०११ सम्म नीति निर्माणमा सक्रिय रहे।
“सामूहिक हितका लागि व्यक्तिगत स्वतन्त्रतामा सीमा आवश्यक छ।”— लि क्वान यू
“मैले सिंगापुरलाई धनी बनाउने वाचा गरिनँ, मैले यसलाई राम्रो शासित बनाउने वाचा गरेँ। धन समृद्धि आफैँ आयो।”— लि क्वान यू
सिंगापुर र नेपाल: तुलनात्मक विश्लेषण:
सन् १९६५ मा सिंगापुर स्वतन्त्र हुँदा नेपाल पनि आर्थिक रूपमा पछाडि थियो, तर नेपालको अवस्था सिंगापुरभन्दा धेरै राम्रो थियो। राजाको शासनमा देशको मुहार फेरिन्थ्यो। नेपालसँग प्राकृतिक स्रोत, कृषियोग्य भूमि र सहयोगी छिमेकीहरू थिए। तर सिंगापुरले लि क्वान यूको दूरदर्शी नेतृत्व, कडा अनुशासन र योजनाबद्ध नीतिहरूले २० वर्षमा आफ्नो भाग्य बदल्यो, जबकि नेपालले राजनीतिक अस्थिरता, भ्रष्टाचार र दीर्घकालीन योजनाको अभावले सम्भावना गुमायो। सिंगापुरले जातीय एकतालाई प्राथमिकता दियो, तर नेपालले जातीय, क्षेत्रीय र राजनीतिक विभाजनलाई बढावा दियो।
सन् १९५९ देखि १९७० को दशकमा नेपाल र सिंगापुरको विकास यात्रा एकदम फरक रह्यो। नेपालले राजनीतिक अस्थिरता, प्रजातान्त्रिक प्रयोगको असफलता र निरंकुश शासनको बोझ बोक्नुपर्यो, भने सिंगापुरले राजनीतिक स्थिरता, आर्थिक सुधार र औद्योगिक क्रान्तिबाट नयाँ इतिहास रच्यो।
नेपालको सन्दर्भ:
नेपालमा सन् १९५१ फेब्रुअरी १८ (२००७ फागुन ७) मा १०४ वर्षे राणा शासनको अन्त्यपछि प्रजातन्त्र स्थापना भयो। सन् १९५९ मा पहिलो आम निर्वाचनमा बीपी कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसले बहुमत ल्याएर प्रजातन्त्र सुरु भयो, तर गठबन्धनको विवाद, आन्तरिक कलह र संसदीय असन्तुलनले समस्या बढायो। राजा महेन्द्रलाई दलीय राजनीतिले अराजकता र अस्थिरता ल्याउने डर भयो, र सन् १९६० मा पञ्चायत प्रणाली लागू गरेर राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। नेपाली काँग्रेस भारतसँग नजिक भएकोले राजालाई सार्वभौमिकताको खतरा देखियो। पञ्चायतले नेपाली राष्ट्रवादको नाममा बाह्य प्रभाव कम गर्न खोज्यो, तर यसले दीर्घकालीन राजनीतिक दमन, आर्थिक स्थिरता र नयाँ विचारको दमनलाई जन्म दियो।
सन् १९६२ को संविधानले पार्टीविहीन “राष्ट्रिय पुनर्निर्माण” को नाममा केन्द्रीकृत शासनलाई प्रोत्साहन गर्यो, तर निजी क्षेत्रको विकासलाई बढावा दिन सकेन। १९६० को दशकमा भारतसँगको तनाव, काँग्रेसको विद्रोह र विद्यार्थी आन्दोलनले राजनीतिक ऊर्जा खर्च गरायो, जसले आर्थिक नीतिहरूलाई प्रभावकारी बनाउन रोक्यो।
सिंगापुरको विपरीत:
सन् १९५९ देखि १९७० सम्म सिंगापुरले आफ्नो राजनीतिक र आर्थिक भविष्यको आधार तयार गर्यो। सन् १९५९ मा पहिलो स्वायत्त सरकार बन्यो, र सन् १९६५ मा लि क्वान यूको नेतृत्वमा मलेसियाबाट स्वतन्त्र भएर सिंगापुर सार्वभौम राष्ट्र बन्यो। सिंगापुरले मेरिटोक्रेसी (कुशल शासन) को सिद्धान्त अपनाएर भ्रष्टाचारमुक्त प्रशासन, शिक्षा र भौतिक पूर्वाधारमा लगानी गर्यो। १९६० को दशकमा औद्योगिकीकरण नीति ल्याइयो, जसले वैदेशिक लगानी आकर्षित गर्यो र निर्यातमा आधारित अर्थतन्त्रको जग बसाल्यो। यसले सिंगापुरलाई एसियन टाइगर बनाउने बाटो खोल्यो।
नेतृत्वको भूमिका:
दुवै देशको विकासमा नेतृत्व निर्णायक रह्यो। नेपालमा राजा महेन्द्रको निरंकुश शासनले राजनीतिक सहभागिता र निजी क्षेत्रको सशक्तीकरणलाई बेवास्ता गर्यो, भने सिंगापुरमा लि क्वान यूको दूरदर्शी नेतृत्वले सामाजिक एकता, कानूनको शासन र आर्थिक सुधारलाई प्राथमिकता दियो। नेपालले जलविद्युत र पर्यटनजस्ता प्राकृतिक स्रोतको उपयोग गर्न सकेन, तर सिंगापुरले भौगोलिक सीमिततालाई अन्तर्राष्ट्रिय व्यापार, बैंकिङ र प्रविधिमा शक्तिमा बदलेर प्रगति गर्यो।
नेपालको प्रगतिमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको कमी, राजनीतिक स्वतन्त्रताको अभाव, र उचित योजना, स्रोत व्यवस्थापन र दीर्घकालीन रणनीतिको कमीले असर पार्यो। सिंगापुरले मानव पूँजी, विज्ञान र प्रविधिमा लगानी गरेर एसियाली विकासको आदर्श बन्यो। दुवै देशको इतिहासले देखाउँछ कि राजनीतिक स्थिरता, दूरदर्शी नेतृत्व र स्पष्ट आर्थिक नीति राष्ट्रिय विकासको आधार हुन्।
सिंगापुरबाट नेपालले सिक्नुपर्ने कुरा:
दृढ नेतृत्व र योजनाबद्ध विकास: सिंगापुरको सफलताको मुख्य कारण लि क्वान यूको सक्षम नेतृत्व र दीर्घकालीन नीति हो। नेपालले पनि राजनीतिक स्थिरता, भ्रष्टाचारमुक्त शासन र जनशक्ति विकासमा ध्यान दिनुपर्छ।
शिक्षा र प्रविधिमा लगानी: सिंगापुरले शिक्षा र प्रविधिलाई प्राथमिकता दिएर मानव पूँजी विकास गर्यो। नेपालले पनि यस्तो रणनीति अपनाउनुपर्छ।
जातीय एकताको संस्कृति: सिंगापुरले “एक राष्ट्र, एक पहिचान” नीति अपनाएर विविधतालाई शक्तिमा बदल्यो। नेपालले पनि क्षेत्रीय र जातीय विभाजनभन्दा माथि उठेर राष्ट्रिय एकता बलियो बनाउनुपर्छ।
नेपालको भविष्य: नेतृत्व र जनताको भूमिका:
संविधानले नेपाली जनतालाई सार्वभौम अधिकार दिएको छ। त्यसैले देशभक्त, योग्य र जवाफदेही नेतृत्व छनोट गर्ने जिम्मेवारी जनताकै हो। असल नेताले भत्किएको देश जोड्न र दशकौँदेखि ओझेलमा परेका सपनाहरू साकार पार्न सक्छ।
- पक्ष-विपक्षको रचनात्मक आलोचना गरौँ, तर राष्ट्रिय एकतालाई कमजोर नबनाऔँ।
- विभाजनका विचारभन्दा माथि उठौँ, शहीदहरूको बलिदानबाट प्राप्त लोकतन्त्र र संविधानमा टेकेर अघि बढौँ।
- नेतृत्वमा योग्यतालाई प्राथमिकता दिऔँ, राष्ट्र निर्माणका लागि दीर्घकालीन दृष्टिकोण अपनाऔँ।
सिंगापुरले ५० वर्षमा आफ्नो भाग्य बदल्यो। यदि नेपालले सुशासन, एकता र दृढ नेतृत्व अपनाउँछ भने, यो पनि एसियाको अर्को सफल उदाहरण बन्न सक्छ।