काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले धर्म, संस्कृति, आस्था र जीवनसँग जोडिएको बागमती नदीलाई स्वच्छ र सफा बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।
बागमती सफाइ महाअभियान १२ वर्ष पूरा गरी १३औँ वर्ष प्रवेश गरेको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दृढ अठोट र निरन्तरको उत्प्रेरणाले बागमती सफा हुने विश्वास व्यक्त गरे । वातावरण संरक्षण र व्यवस्थित ढल विकास सरकारको प्राथमिकतामा रहेको उनले बताए ।
“परम्परागत नदीलाई स्वच्छ, सुरक्षित गर्ने सरकारको नीति तथा कार्यक्रम छ, वन क्षेत्रको विकास गरी सभ्यता सुरक्षित राख्ने अभियानमा मन्त्रालय प्रयासरत छ । वृक्षारोपण गर्ने अभियान चलाऔँ, मन्त्रालयले बिरुवाको कमी हुन दिने छैन”, वनमन्त्री शाहीले भने । कार्यक्रममा नदीको सभ्यता संरक्षणका लागि नदी किनारमा १३ हजार वृक्षारोपण गरिने जानकारी दिइएको थियो ।
प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले मन्दिरै मन्दिरको सहरका नदी गन्ध आएर नजिक जान नसकिने अवस्थामा पुग्नुले नीति, निर्माता र सहरवासीलाई पनि गिज्याइरहेको बताए । उनले यसको सफाइमा स्थानीय प्रतिनिधिसहित सरोकार भएका सबै जुट्नुपर्ने आवश्यकता औँल्याए ।
तीनै तहका सरकारबीचको समन्वयमा कमी आएकाले नदी सफाइ हुन नसकेको हो कि भन्ने परेकाले समन्वय गरेर सफाइ गरिनुपर्नेमा थापाले जोड दिए । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई घचघच्याएर काठमाडौँ उपत्यकाका नदी सभ्यतालाई सफा बनाउनुपर्ने उनको भनाइ छ ।
सरकारका पूर्वसचिव किशोर थापाले पशुपति क्षेत्रमा वाग्मतीमा स्नान गर्न सक्ने बनाउने उद्देश्यले बि.सं. २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु गरिएको जानकारी गराए । सफाइ महाअभियानको ५०औँ हप्तामा गुह्येश्वरीमा स्नान गरिए पनि त्यसपछि फेरि वाग्मती प्रदूषणमुक्त हुन नसकेको उनले उल्लेख गरे ।
काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकारले आफू २०४३ सालदेखि वाग्मती सफा गर्ने अभियानमा जुटे पनि सरोकार भएका निकाय र स्थानीयवासीले आवश्यक सहजीकरण नगरेकाले नदी सफा हुन नसकेको बताए । नदी सफा बनाउन सबैको सक्रिय भूमिका हुनुपर्ने उनको भनाइ छ ।
सफाइ महाअभियानका अभियानकर्मी डा. माला खरेल र वनस्पति विज्ञ डा. अच्युत तिवारीले वाग्मती नदी सफा गरी स्वच्छता प्रवर्द्धन गर्न आवश्यक तत्वका बारेमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा सफाइ अभियानकर्मीहरू चक्रबहादुर चन्द, डा. सुसन भट्टराई, शोभाकर पाण्डे, अभिनेत्री सुहाना थापा, गायत्री परिवारका केशव मरहट्ठा र सावित्रीदेवी काफ्लेलगायत सहभागीले काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीसहित अन्य नदी रहेकाले तिनको सफाइमा सबै स्थानीयवासी एकीकृत भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।