काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रजातन्त्र स्थापना एवं पुन:स्थापनाका लागि लडेका प्रजातन्त्र सेनानीहरूको अभिलेख राखिनुपर्ने बताएका छन् ।
नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश कार्यसमितिले आज यहाँ आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘जीवनगाथा’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गदै उनले प्रजातन्त्रका लागि लडेका सेनानीको अभिलेख कतै पनि नपाइनु दु:खद् भएको बताए ।
“वास्तविक अभिलेख नभएकै कारण प्रजातन्त्र सेनानीको सूची माग्दा आधिकारिक संस्थाबाटै पञ्चायतमा लागेर काम गरेकाको पनि नाम आउने गरेको छ, काँग्रेसलाई जरा गाड्ने अवस्थामा पुर्याउने प्रजातन्त्र सेनानीकै अभिलेख नभएकाले प्रजातन्त्रका लागि काम गरेकाको सूची तयार पारी राख्नुपर्छ”, काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले भने ।
प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले काँग्रेसले प्रजातन्त्र सेनानीलाई बिर्सन नहुने बताउँदै सर्वाधिकार सम्पन्न प्रजातन्त्र सेनानी आयोग गठन गरिनुपर्ने बताए । काँग्रेसभित्र प्रजातन्त्र सेनानीलाई आरक्षणको व्यवस्था गरिनुपर्ने माग पनि उनको थियो । आगामी निर्वाचनमा अहिलेसम्म अवसर नपाएका ८० प्रतिशतलाई काँग्रेसले टिकट दिनुपर्ने माग पनि प्रजातन्त्र सेनानी संघले गरेको छ । अध्यक्ष दाहालले काँग्रेस नेता डा. शेखर कोइराला र केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेललाई मागपत्र पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय ध्यान गोविन्द रञ्जित र टेकप्रसाद गुरुङ, काँग्रेस नेता दामोदर गौतम, प्रजातन्त्र सेनानी संघका महामन्त्री गोपाल गिरी, प्रजातन्त्र सेनानीहरू तुलसीनारायण खमु श्रेष्ठ, मना थापा, गोविन्दप्रसाद गजुरेल, विनोद सिलवाललगायतले प्रजातन्त्र सेनानीले विगतमा गरेका योगदानको अभिलेख राखिनुपर्नेमा जोड दिएका थिए ।
तुलसीनारायण खमु श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘जीवनगाथा’का बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गदै ब्रिलियन्ट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दुर्गाप्रसाद नेपालले पुस्तकमा प्रजातन्त्रका लागि श्रेष्ठले गरेको योगदानको चर्चा गरिएको जानकारी गराए । विसं २००७ देखि २०८१ सम्म तुलसीनारायणले नेपाली काँग्रेस पार्टीका साथै सामाजिक क्षेत्रमा गरेका योगदानका विषयमा उल्लेख गरिएको पनि उनले बताए ।
पुस्तकका सम्पादक कुमार रञ्जितले एक सय ५० पृष्ठको पुस्तक काँग्रेसको इतिहासका रूपमा आएको बताए । प्रजातन्त्र स्थापना एवं पुनर्स्थापनाका लागि श्रेष्ठले पुर्याएको योगदानका विषयमा पनि पुस्तकमा चर्चा गरिएको उनले बताए । छ खण्डमा विभाजित पुस्तकले नेपालको राजनीतिक इतिहासको करिब सात दशकभन्दा लामो समयको यथार्थता सार्वजनिक गरेको बताए । सो अवसरमा बागमती प्रदेशका १३ जिल्लाका १०० जना प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो ।