काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरुबीच समझदारी वृद्धि आवश्यक रहेको बताएकी छन् ।
चीन भ्रमणका क्रममा गान्सु प्रान्तको डुन्ह्वाङमा आयोजित सभ्यताहरुबीचको आदान प्रदान र पारस्परिक सिकाइ सम्बन्धी चौथो संवाद कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले विभिन्न संस्कृतिहरूको सुन्दर बगैँचा रहेको संसारमा विविध जातीय समूह, भाषा र सांस्कृतिक संगम सहअस्तित्व रहेको उल्लेख गरिन् ।
चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघ तथा गान्सु प्रान्त जनसरकारद्वारा संयुक्त रूपमा आयोजित ‘सिल्क रोड’को मूल भावनालाई आत्मसात् गर्दै विश्व सभ्यता कार्यान्वयनलाई गति प्रदान गर्न आयोजित चौथो संवादलाई उनले सम्बोधन गरेकी थिइन् । सो अवसरमा उनले उत्तर दक्षिण सिल्क रोड शाखाहरूको संगमविन्दु डुन्ह्वाङ सभ्यताहरुसम्बन्धी संवाद आयोजनका लागि उत्तम स्थल रहेको उल्लेख गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङको दूरदर्शी दृष्टिकोण र अग्रगामी पहलबाट ‘बेल्ट एण्ड रोड इनिसियटिभ्स’ (बीआरआई) ले विश्वव्यापी सम्पर्क र आर्थिक सहयोगलाई प्रवर्द्धन गरेर प्राचीन सिल्क रोडलाई पुनर्जीवित, विस्तार र नवीकृत गर्ने लक्ष्य राखेको बताइन् । एसिया, अफ्रिका र युरोपभर सडक, रेल, बन्दरगाह, पाइपलाइन र डिजिटल पूर्वाधार विस्तार गर्नु बीआरआई पहलको मुख्य लक्ष्य भएको उल्लेख गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपति सी को ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै त्यस बखत दुई मुलुकहरू विकास र समृद्धिका लागि नेपाल-चीन सम्बन्धलाई रणनीतिक साझेदारीमा रूपान्तरण गर्न सहमत भएको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि नेपालका तर्फबाट संवाद आयोजक र सहभागीलाई बधाई र शुभकामना व्यक्त गरिन्।