काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियु २४औँ महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ ।
महासचिव शंकर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही जेठ २५ गतेदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिएका हुन् । मल्लले महासचिव पोखरेलको परिपत्र आज प्राप्त भएकाले आसन्न महाधिवेशनबाट उमेर हद लागू गर्ने जानकारी दिए ।
एमालेको यही जेठ ११ गते बसेको सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हद तोक्ने निर्णय गरेका थियो । परिपत्रमा भनिएको छ, “३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरू मात्र विधानको व्यवस्थाअनुरूप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने, यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरू अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन् ।”
परिपत्रमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था सङ्गठनका सबै तहका कमिटीमा लागू हुने गरी विधानमा आवश्यक व्यवस्था मिलाउनसमेत भनिएको छ ।
यसअघि नेपाल विद्यार्थी संघले र अनेरास्ववियु (क्रान्तिकारी)ले ३२ वर्ष उमेर हद तोकेका थिए । एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षे उमेर हद तोकेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा २८ वर्षे उमेर हद तोकिएको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।