काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध मुलुक निर्माण गर्न सकिने बताएका छन् ।
अध्यक्ष नेपालले १८औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै जननिर्वाचित प्रतिनिधिबाट सञ्चालन हुने शासन व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएको बताए।
सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गरी देशलाई आर्थिक विकासमा अगाडि बढाउनुपर्ने बताउँदै उनले जनभावनाको कदर गरी संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नुपर्ने उल्लेख गरे ।
जनताको लामो संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको बताउँदै उनले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेकामा चिन्ता व्यक्त गरे ।
मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेकामा सबै चनाखो हुनुपर्नेमा जोड दिँदै उनले जनताको सामाजिक तथा जीवनपद्धतिका रूपमा आर्थिक रूपान्तरण स्थापित र संस्थागत गर्न समाजवाद कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले ऐतिहासिक जनक्रान्तिसहित न्यायपूर्ण आन्दोलनहरूमा सहादत प्राप्त गरेका सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरे ।