काठमाडौँ । पूर्वराज्यमन्त्री एवं नेपाली काँग्रेसका नेता गणेशबहादुर खड्काको निधन भएको छ । ८२ वर्षीय खड्काको दैलेखको नारायण नगरपालिका-७ स्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो ।
काँग्रेस दैलेखका पूर्व सभापति समेत रहेका खड्का केही वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । खड्का वि.सं. २०४८ र २०५१ को आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा र २०६४ मा संविधान सभा सदस्य पदमा दैलेख निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।
उनी २०५२ मंसिरमा भौतिक योजना, निर्माण एवं यातायात सहायक मन्त्री र २०६४ स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।
यसैबीच पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन्।
