काठमाडौँ । पराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टोन पिटर्सबीच भेटवार्ता भएको छ।
बुधवार साँझ काठमाडौँमा पराष्ट्र मन्त्री राणासहितको नेपाली प्रतिनिधि मण्डल र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टोन पिटर्ससहतिको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको हो।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री डा. राणाले छलफलमा कृषि, व्यापार, लगानी, पर्यटन, शिक्षा र बहुपक्षीय संलग्नता लगायत धेरै क्षेत्रहरूमा छलफल भएको बताइन्।
उनले दुई देशबीच घनिष्ठ, सौहाद्र्रपूर्ण र लामो समयदेखिको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेबारेमा छलफल केन्द्रित रहेको बताइन्। द्विपक्षीय व्यापार मात्रा बढाउने बाटोहरू खोज्न सहमत भएको बताउँदै उनले थप आर्थिक संलग्नताको आवश्यकता महसुस गरेको उनले उल्लेख गरिन्।
छलफलका क्रममा पर्यटन दुवै देशको अर्थतन्त्रको एक महत्त्वपूर्ण स्तम्भ भएकाले पर्यटन क्षेत्रमा सहयोगको महत्वलाई जोड दिइएको उनले बताइन्।
दुवैले दुई देश र जनतालाई नजिक ल्याउन न्युजिल्याण्डमा रहेका नेपाली डायस्पोराले खेलेको भूमिकाको कदर गर्दै देशहरू बीचको सुदृढ र दिगो द्विपक्षीय सम्बन्धका लागि जनता–जनताबीचको सम्बन्धको महत्वलाई जोड दिइएको बताए।
पत्रकार सम्मेलनका क्रममा बोल्दै न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टोन पिटर्सले छलफल दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउनेमा केन्द्रित रहेको बताए।