काठमाडौँ । बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक, २०८२ को समितिको प्रतिवेदन भोलि (बुधवार) प्रतिनिधिसभामा पेश हुने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधवार बिहान ११ बजे बस्ने २०औँ बैठकमा यो विधेयक पेश गर्ने तयारी गरेका छन्।
मुलुक संघीयतामा गएको एक दशकभन्दा बढी समय बितिसक्दा पनि सार्वजनिक प्रशासनलाई मार्गदर्शन गर्ने संघीय निजामती सेवा ऐन निर्माण हुन नसक्दा संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ। यो ऐनलाई संघीयताको प्रमुख आधारका रूपमा लिइन्छ।
विभिन्न विवाद र तिकडमका बीच मस्यौदा तयार भई संसदमा पेश गर्न लागिएको भए पनि तल्लो तहदेखि माथिल्लो तहका कर्मचारीहरूको असन्तुष्टि कायमै छ। यस्तो अवस्थामा विधेयक पारित हुने कुरामा पूर्ण विश्वस्त हुन सकिने स्थिति छैन।
आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण सञ्चालन हुन सकेन। विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेका थिए।
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि बढ्न नदिने विपक्षी दलहरूको अडानका कारण भोलिको संसद् बैठक पनि सहज रूपमा सञ्चालन हुने सम्भावना कम देखिन्छ।
