काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष अन्त्यको मुखैमा सडक विभागको महानिर्देशकको सरुवासहित पाँच सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्री देवेन्द्र दाहालले महानिर्देशक रामहरि पोखरेललाई सडक तथा ट्राफिक सुरक्षा आयोजनाको समन्वयकर्तामा सरुवा गरी विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक डा. विजय जैसीलाई महानिर्देशकको जिम्मेवारी सुम्पेका छन्।
यसै क्रममा, योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक उमेश बिन्दु श्रेष्ठलाई जलमार्ग आयोजनाको समन्वयकर्ता र सम्भार महाशाखाका उपमहानिर्देशक अर्जुनप्रसाद अर्याललाई विकास सहायता कार्यान्वयन महाशाखामा व्यवस्थापन गरिएको छ। त्यस्तै, सडक तथा ट्राफिक सुरक्षा आयोजनाका समन्वयकर्ता प्रभातकुमार झालाई योजना तथा अनुगमन महाशाखाको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रगति पछिल्लो समय निराशाजनक देखिएको छ। २०८१ पुस मसान्तसम्मको मन्त्रालयगत माइलस्टोनअनुसार कुल ९८ मध्ये १९ वटा आयोजना सम्पन्न हुनुपर्नेमा ३ वटा मात्र सम्पन्न भई १५.८ प्रतिशत प्रगति भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनको निजी सचिवालयको सक्रियताका बाबजुद मन्त्रालयले अपेक्षित नतिजा हासिल गर्न सकेको छैन। सडक निर्माण र स्तरोन्नतिमा जोड दिइए पनि गुणस्तर र कर्मचारी व्यवस्थापनमा बारम्बार आलोचना हुने गरेको छ। यस्तो अवस्थामा कर्मचारी सरुवामा देखिएको हतारोलाई कसरी बुझ्ने ?