पर्वत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्ने बताएका छन् ।
‘जनतासँग माओवादी, मध्य पहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा आज पर्वत सदरमुकाम कुश्मामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा माओवादीले कसैको सहारा नलिने बताए । अबको निर्वाचनमा माओवादी आफ्नै तागतले उभिने उनको भनाइ छ ।
हुलाकी राजमार्ग र मध्य पहाडी लोक मार्गको जनजागरण अभियानमा देखिएको जनताको उत्साहले आफू पनि उत्साहित भएको उनले बताए । अध्यक्ष दाहालले भने, “माओवादी नेतृत्वमा आए सुशासन कायम हुन्छ र भ्रष्टाचारको अन्त्य हुन्छ भन्नेहरू धेरै भेटेका छौँ । हामी अहिले जनतासँग साक्षात्कार गरिरहेका छौँ, पार्टीलाई मजबुत बनाउँदै कार्यकर्तालाई एकत्रित गरिरहेका छौँ ।”
समाजवादी मोर्चाले सरकारलाई सच्चिन र मुलुकको हितमा काम गर्न खबरदारी गर्दै आएको उनले उल्लेख गरे । जनसंवादमा जिल्लास्थित पत्रकार, उद्योगी व्यवसायी, शिक्षक, स्वास्थ्य तथा सामाजिक संघसंस्थाका प्रमुखहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए । सो अवसरमा सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरिएको थियो ।