काठमाडौँ। नेप्से परिसूचक आज ७.९४ अंकले घटेको छ । नेप्से परिसूचक घटेर २६६९.५१ विन्दुमा रोकिएको छ । तर, कारोबार रकम एकै दिन तीन अर्ब ३८ करोड रुपैयाँले बढेको छ ।
आज १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार सात अर्ब ३१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
आज बजार खुल्नेबित्तिकै परिसूचक ११ बजेर ३ मिनेट जाँदा २७७१ विन्दुसम्म पुगेको थियो । पाँच मिनेटमै एक अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भयो ।
आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ । १५३ कम्पनीको सेयर मूल्य घटेको छ । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । श्वेत–गंगा हाइड्रोपावरको सेयर मूल्य ८.३२ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका १३ समूहमध्ये वाणिज्य बैंक, म्युचुअल फन्ड र विकास बैंक समूहको परिसूचक बढेको छ ।