काठमाडौँ । नेपालका लागि पाकिस्तानी राजदूत अब्रार हाश्मीले ‘सगरमाथा संवाद’मार्फत जलवायु परिवर्तनका विषयमा विश्व जगत्को ध्यानाकर्षण गराएकामा नेपाललाई धन्यवाद दिएका छन् ।
काठमाडौँस्थित पाकिस्तानी दूतावासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राजदूत हाश्मीले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम अस्वभाविक रूपमा वृद्धि भइरहेको अवस्थामा नेपालमा आयोजित ‘सगरमाथा संवाद’ विशेषगरी हिन्दूकुश हिमालयन क्षेत्रका लागि कोसेढुङ्गा साबित हुने धारणा व्यक्त रे ।
उनले विश्वका अग्ला हिमशिखर रहेका नेपाल र पाकिस्तानसामु हिमाल जोगाउनुपर्ने चुनौती रहेको र आवश्यक सहयोगका अभावमा पछिल्ला दिनमा जलवायु परिवर्तनसम्बन्धी मुद्दा ओझेल परेको अवस्थामा उल्लेख्य सङ्ख्यको प्रतिनिधित्वसहित यस किसिमको अन्तरराष्ट्रिय संवाद कार्यक्रम आयोजना गरेकामा नेपाल सरकारलाई धन्यवाद दिए ।
ऐतिहासिक सम्पदा र जैविक विविधताको संरक्षण गर्दै विशेषगरी पर्यटन प्रवर्द्धनका क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै राजदूत हाश्मीले भने, “जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा सहयोग र सहकार्य गरी अधिकतम लाभ लिनेतर्फ दुवै देशको ध्यान जान आवश्यक छ ।”
जम्मु–काश्मिरस्थित पर्यटकीयस्थल पहलगाममा गत ‘२२ अप्रिल’मा भएको दु:खद् घटनाको प्रसंग उल्लेख गर्दै उनले आतङ्कारी गतिविधिको पाकिस्तानले सदैव निन्दा र भर्त्सना गर्दै आएको स्पष्ट गरे। राजदूत हाश्मीले यस घटनामा पाकिस्तानलाई मात्र दोषी करार गरी प्रचारप्रसार भएकामा दुःख व्यक्त गर्दै नेपाली आमसञ्चार माध्यमबाट यसअघि जस्तै सत्य, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण हुने विश्वास व्यक्त गरे ।