भ्याटिकन सिटी । पोप लियो चौधौंले आफ्नो ‘पप्यासी’को सुरुवातमा आइतबार आयोजित उद्घाटन समारोहमा ‘प्रकृति र गरिबको शोषण रोक्न’ विश्व समुदायसँग अपिल गरेका छन् । उनले आफ्नो अभिव्यक्तिमा भने, “हाम्रो समयमा धेरै विभाजन र घृणा छ, जुन आर्थिक सोचाइले पृथ्वीका स्रोतहरूको शोषण र गरिबीको उपेक्षामा योगदान पुर्याउँछ ।”
विश्वभरका महत्त्वपूर्ण अतिथिहरूको उपस्थिति बीचमा उनले आफ्नो उद्घाटन प्रवचनमा शान्ति र न्यायका लागि चर्चको महत्त्वपूर्ण भूमिका रहेको कुरामा जोड दिए ।
पोप लियो चौधौंले भने,“हामी सबैलाई एक अर्कासँग सद्भाव र समझदारीका साथ जीवन यापन गर्नको लागि एकजुट हुनुपर्ने आवश्यकता छ,“ साथै उनले युक्रेनको युद्धको अन्त्यका लागि प्रार्थना गर्दै, “युक्रेनी जनता न्यायपूर्ण र दीर्घकालीन शान्तिको लागि वार्तामा सहभागी हुन प्रतीक्षारत छन्,” भने ।
सो अवसरमा, पोप लियो चौधौंको स्वागत गर्नका लागि दुई लाख भन्दा बढी श्रद्धालु सेन्ट पिटर्स स्क्वायरमा उपस्थित थिए । उनको उद्घाटन समारोहलाई संयुक्त राज्य अमेरिका सहितका धेरै देशहरूबाट उच्च स्तरको प्रतिनिधित्व प्राप्त भएको थियो ।
सुरुमा, पोप लियोले सन्त पिटरको समाधिमा प्रार्थना गरे र त्यसपछि पोप पदको चिन्हहरू ग्रहण गरे । उनले पल्लियम र फिशरम्यान्स रिङलाई सम्मानका साथ प्राप्त गर्दै आफ्नो आधिकारिक कार्यकालको आरम्भ गरे ।