भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (आइसियू) सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ ।
बाल क्यान्सरका बिरामी बढ्दै गए पनि छुट्टै वार्ड नहुँदा उपचारमा समस्या आएकाले चार शय्याको आइसियू, सात शय्याको डे केयर र वार्डसहित १५ शय्याको वार्ड सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजाराम तजलेले जानकारी दिए ।
क्यान्सर अस्पतालमा दैनिक एक हजार जना बिरामी बहिरंग सेवा (ओपिडी) का लागि आउने गरेको बताउँदै उनले १३० शय्यामा सञ्चालन अस्पताल हाल आधा घण्टाका लागिसमेत शय्या खाली नहुने अवस्था आएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत तजेलले बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि एक महिनादेखि १४ वर्षमुनिका बच्चालाई नि:शुल्क उपचार, केमोथेरापीसहितको नि:शुल्क औषधि वितरण भइरहेको जानकारी दिँदै एक वर्षमा १५० जना क्यान्सर रोग लागेका बालबालिकाको उपचार भएको बताए ।
अस्पतालकी बालरोग विशेषज्ञ डा. रितु लामिछानेले बाल क्यान्सर बढ्दो अवस्थामा रहेका र हाल अस्पतालमा दैनिक २० देखि ३० जना बालबालिका क्यान्सरको बहिरंग सेवा लिन आउने गरेको बताइन्। उनले बाल क्यान्सरका बिरामी राख्ने ठाउँ नभएर छुट्टै वार्ड सञ्चालनमा ल्याउनु परेको बताइन् ।