काठमाडौँ । नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु. २१ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सङ्खुवासभा धर्मदेवी नगरपालिका-३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए ।
निजले गत मङ्सिर ८ गते जिल्ला धनकुटा नगरपालिका-४ घर भई हाल भक्तपुर मध्यपुरथिमी-६ बस्ने ३९ वर्षीय प्रेमकुमार विकलाई नगद रु. १० लाख र गत चैत ११ गते सुनसरी बराहक्षेत्र नगरपालिका-१ घर भई हाल जिल्ला काठमाडौँ न्युरोड बस्ने २४ वर्षीय राजकुमार विकलाई रु. ११ लाख ८५ हजार ठगी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको सूचना अधिकारी बोहोराले बताए ।