काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र संयुक्त अरब इमिरेट्स (युएई)का ऊर्जा तथा दिगोपना मामिलाका लागि सहायक विदेशमन्त्री अब्दुल्ला बलालाबीच भेटवार्ता भएको छ ।
सगरमाथा संवादका लागि नेपाल आएका सहायक विदेशमन्त्रीसँग सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशको ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
भेटका क्रममा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत् क्षेत्रको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले सरकारले हालै ऊर्जा विकाससम्बन्धी मार्गचित्रको लक्ष्य लिएकाले यसलाई कार्यान्वयन गर्न संयुक्त अरब इमिरेट्सको साथ र सहयोग आवश्यक रहेको बताए । मन्त्री खड्काले जलविद्युत्, सौर्य ऊर्जा, हरित हाइड्रोजन तथा प्रसारण लाइनलगायत प्रमुख क्षेत्रमा संयुक्त अरब इमिरेट्सलाई लगानी गर्न आग्रह गरे ।
भेटमा संयुक्त अरब इमिरेट्सका विदेश सहायकमन्त्री अब्दुल्लाले नेपालको नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स इच्छुक रहेको बताए । उनले आगामी दिनमा ऊर्जा क्षेत्रको विकासमा दुई देशबीच सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
भेटमा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाई सचिव सरिता दवाडीलगायत मन्त्रालयका उच्च अधिकारी र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिको सहभागिता थियो ।