काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच आज भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री डा. राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच आज सो ‘साइडलाइन’ भेटवार्ता भएको हो ।
त्यस अवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरूका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा. राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरू, औपचारिक बैठक, विविध विषयहरूमा भइरहेका इंगेजमेन्टका बारेमा पनि सो बैठकमा कुराकानी भएको थियो ।
साथै जलवायु परिवर्तनको मुद्दा नेपाल र भारतको साझा मुद्दा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि उनीहरूबीच कुराकानी भएको थियो ।