काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका छन् । उनले शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रसारण लाइनमा समस्या आउँदा बिजुली आपूर्तिमा अवरोध देखिएको बताएको हो ।
पत्रकार सम्मेलनमा बिहीबार बेलुकी ढल्केवर-मुजफ्फरपुर ४०० केभी डबल सर्किटलाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौँसहित केही स्थानमा बिजुली आपूर्ति हुन नसेकेको उनले बताए ।
भारतको सो लाइनमार्फत नेपालमा भइरहेको विद्युत् आयातसमेत केही समय रोकिएका कारण बिजुली जाने समस्या आएकाले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनको भनाइ छ ।
प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ हुने सम्भावना पूर्णरूपमा अस्वीकार गरेको छ । उनले अहिले करिब १४ सय मेगावाट विद्युत् उत्पादन र पिक आवरमा दुई हजार मेगावाट माग रहको बताए ।
प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता लोड धान्न सक्ने अवस्था नरहेकाले पनि समयसमयमा बिजुली जाने गरेको उनको भनाइ छ ।