काठमाडौँ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरुद्धको महाअभियान अन्तर्गत तारकेश्वर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बोहोराटार बालाजुको आयोजनामा तारकेश्वर नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनबीच लागूऔषध विरुद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारी पत्र आदान प्रदानसमेत भएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले देशैभरी समस्याको रूपमा देखिएको लागूऔषध दुर्व्यसनले शान्ति सुरक्षामा असर गर्नुका साथै विभिन्न आपराधिक क्रियाकलापहरू समेत वृद्धि भएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणको लागि सबै सरोकारवाला निकायहरूको समन्वय तथा सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम गर्न यस्ता सचेतनामूलक कार्यक्रमहरू अत्यन्तै फलदायी हुने उल्लेख गर्दे सबै सरोकारवाला निकायहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोइराला, प्राध्यापक डा. केशव राज खड्का र विशेषज्ञ प्राध्यापक डा.केदार नरसिंह केसीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्यांक कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थिए ।
