काठमाडौँ । शुक्रबार दिउँसो डोरी टाँग्ने टोलीले बाटो खोलेपछि बुधबार बिहानदेखि व्यावसायिक आरोहण सुरु भएको छ।
खराब मौसमको सामना गर्दै बुधबार कम्तीमा ४० जना स्वदेशी तथा विदेशी आरोही सगरमाथाको शिखरमा पुगेका छन्।
पर्यटन विभागका अनुसार तीन वटा फरक-फरक कम्पनीका ४० जना आरोही बुधबार बिहान विश्वकै अग्लो शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन्।
यस पटकको आरोहण सिजनका लागि सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म ऐटके एक्सपिडिसनमा कार्यरत ७ जना नेपाली माउन्टेन गाइडले डोरी टाँगेर बाटो बनाउने काम शुक्रबार दिउँसो सम्पन्न गरेका थिए। निर्देशक गौतमका अनुसार, ‘शुक्रबार चुचुरोसम्मका लागि माउन्टेन गाइडहरूले बाटो खोलेपछि यस पटकको सिजनका लागि बुधबारदेखि आरोहण सुरु भएको हो।
बुधबार सगरमाथाको चुचुरोमा पुग्नेमा ८ जना चिनियाँ, ६ जना युक्रेनी, २ जना चेक गणराज्यका, १ जना अमेरिकी र १ जना जापानी आरोही रहेका छन्। उनीहरूलाई आरोहणमा सहयोग गर्ने २२ जना नेपाली गाइड तथा शेर्पाहरूले पनि सगरमाथामा सफल आरोहण गरेको विभागले जनाएको छ।
आइतबारसम्म सगरमाथासहित २६ वटा हिमाल आरोहणका लागि विभागले १ सय १९ वटा आरोहण दललाई अनुमति जारी गरिसकेको छ। जसमा २ सय ४० महिला र ८ सय ८७ पुरुष गरी नेपालसहित ५७ देशका ११ सय २७ जना सहभागी छन्।
यीमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ४५ वटा आरोहण दलले अनुमति पाएका छन्। जसमा ८४ महिला र ३ सय ७२ पुरुष गरी ४ सय ५६ जना रहेका छन्। त्यसै गरी सगरमाथासँगै रहेको ल्होत्से हिमाल आरोहणका लागि १ सय ७ र नुप्से हिमालका लागि ७६ जनाले अनुमति पाएका छन्। यी तीन वटै हिमाल आरोहण गर्न अनुमति लिने आरोहीहरू र तिनीहरूका सहयोगीहरूसहित हाल सगरमाथा आधार शिविरमा कम्तीमा १ हजार स्वदेशी तथा विदेशी रहेका विभागले जनाएको छ।
विभागले सबै हिमाल आरोहण अनुमति जारी गर्दै ७७ करोड ३५ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ।
यसैबीच, यस पटकको आरोहण सिजनमा तीन जना विदेशी आरोहीको मृत्यु भइसकेको छ भने २ जना नेपाली गाइड हराइरहेका छन्।