काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव नेपालमा रहेको छ।
जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।