काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दिएको बताएका छन् ।
तराई मधेस जागरण अभियानको उपलब्धिबारे आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अभियान शानदार रूपमा सम्पन्न भएको बताउँदै अभियानले सकारात्मक सन्देश दिएको उनले बताएका हुन् ।
“अभियानमा जनताले आफ्नो कुरा सुनाए, हाम्रो नेतृत्वले जनतालाई हाम्रो कुरा सुनाएको छ”, नेता पोखरेलले भने, “जसले हामीलाई ऊर्जा प्राप्त भएको छ ।” उनले तराई मधेस जागरण अभियानले जनतासँग नयाँ सम्बन्ध कायम भएको बताए ।
अभियानको क्रममा एकातिर जनताको समस्या नजिकबाट बुझ्ने र हेर्ने अवसर मिलेको बताउँदै उनले जनताबाट अपार माया, स्नेह प्राप्त गरेको बताए । उनले हुलाकी राजमार्ग क्षेत्रका जनता सुविधा र सुरक्षा खोजिरहेको उल्लेख गरे ।
हुलाकी राजमार्गभन्दा दक्षिणतिरका जनतामा न्यूनतम सेवा सुविधा नपुगेको बताउँदै नेता पोखरेलले सीमाको रक्षा गरिरहेको वास्तविक देशभक्त जनताका कुरा केन्द्रीय राज्य सत्ताले बुझ्न जरुरी रहेको बताए ।
गत फागुन १२ गतेदेखि माओवादीले झापाबाट हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान सुरु गरेको थियो । सो अभियान कञ्चनपुरको महेन्द्रनगर पुगेर बुधबार समापन भएको थियो ।