काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रमिक वर्गका अधिकार तथा सेवा सुविधा उपलब्ध गराउन आवश्यक नीति निर्माणमा उनीहरूको सहभागी गराउनुपर्ने बताएका छन् ।
एकीकृत समाजवादी निकट ट्रेड युनियनद्वारा १३६औँ श्रमिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले देशको विकास तथा समृद्धिका लागि श्रमजीवी मजदुर वर्गको हकहित अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।
उनले उत्पादनको विभिन्न क्षेत्रमा क्रियाशील मजदुर वर्गका संविधान प्रदत्त सबै अधिकार संरक्षणबाट मात्र मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव रहेको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री नेपालले श्रमिक वर्गको अधिकार तथा हितको संवर्द्धन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्नुपर्ने विचार व्यक्त गरे । मुलुकमा विद्यमान सामाजिक शोषण, अन्याय, सबै प्रकारका विभेदको अन्त्य गरी गरिबी न्यूनीकरण गर्न सकिने बताउँदै उनले त्यसका लागि कम्युनिष्ट पार्टीको स्थापना गरिएको विचार व्यक्त गरे ।
मूलधारको कम्युनिष्ट सिद्धान्तलाई आफ्नो पार्टीले आत्मसात् गरेको बताउँदै अध्यक्ष नेपालले वर्गीय शोषण, जातीय विभेदको अन्त्य गरी मजदुर वर्गको पक्षमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय पुँजीको विकास गरी औद्योगिकरणमा लगानी वृद्धि गरेमा रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउँदै उनले वैदेशिक रोजगारीमा गएका नागरिकलाई स्वदेशमा फर्कने वातावरण बन्ने र उनीहरूका सीप तथा ज्ञान स्वदेशमै उपयोग गर्न सकिने उल्लेख गरे ।
युनियनका अध्यक्ष विष्णु लम्सालले संयुक्त राज्य अमेरिकाको सिकागोमा भएको श्रमिक आन्दोलनको सम्झनामा हरेक वर्ष दिवस मनाइने गरेको बताउँदै मजदुर वर्गलाई उचित ज्याला, सामाजिक न्यायमा आधारित सुरक्षा कायम गर्नुपर्नेमा जोड दिए ।