काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्त्वपूर्ण रहेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइप्रति शुभकामना व्यक्त गर्दै उनले एक्समा अधिकांश नेपाली श्रमिक अनौपचारिक क्षेत्रमा रहेका, उनीहरूको न्यूनतम तलब, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थललगायत अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् ।
“विदेशमा कार्यरत श्रमिकहरूको योगदान अर्थतन्त्रको मेरुदण्ड भए पनि उहाँहरू शोषण र जोखिममा हुनुहुन्छ । बेरोजगारी र युवा शक्ति विदेश पलायन चिन्ताको विषय बनेको छ भने महिला र घरेलु श्रमिकहरू अझै पनि उपेक्षित छन्”, उनले लेखेकी छन् ।
श्रमिक अधिकारको संरक्षण, श्रम कानुनको कार्यान्वयनका साथै मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्न सरकार, रोजगारदाता र ट्रेड युनियनहरूले समन्वयात्मक प्रयास गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीले बताएकी छन् ।
यसै अवसरमा दिएको शुभकामना सन्देशमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि श्रमजीवी मजदुर वर्गको हक हित अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
सन्देशमा राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका श्रमिकको हकहितका लागि सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिइएको छ ।
यसैगरी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानप्रदत श्रमिकको हक अधिकारको रक्षा, सामाजिक सुरक्षा, समता र न्यायपूर्ण समाज निर्माण अपरिहार्य भएको बताएका छन् । उनले श्रमिक वर्गको निरन्तर मिहिनेत, लगनशीलता र समर्पणबाट उत्पादनशीलता वृद्धि भई राष्ट्रको समृद्धि सुनिश्चित हुने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्पूर्ण श्रमिकमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै श्रमिकका अधिकारको रक्षा तथा उनीहरूको सुरक्षाका निम्ति प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।