काठमाडौँ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरूको आन्दोलन स्थगित नहुने बताएका छन् । ।
सोमबार आयोजित एक कार्यक्रममा उनले सरकारले चाहेको खण्डमा केही दिनमा नै विद्यालय शिक्षा विधेयक टुङ्ग्याएर जारी गर्न सकिने अवस्था रहेको भन्दै विद्यालय शिक्षा ऐन टुंगोमा पुगेपछि मात्रै आफूहरू कार्यक्षेत्रमा फर्किने बताएका हुन् ।
अध्यक्ष सुवेदीले आफूहरूले सभामुख देवराज घिमिरेलाई भेट्दा १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा १३ गते नै ऐन जारी गर्न सकिने बताएको जानकारी दिए ।
आफूहरूले सरकारसँग २०७५, ०७८ र ०८० विभिन्न सम्झौता गरेको र अहिले तिनै सम्झौता कार्यान्वयनको लागि आन्दोलन भइरहेको उनले बताए । उनले सरकारले समयमा नै आफूहरूको माग नसुनेका कारण शिक्षकहरू अहिले एकशुत्रीय मागको साथ आन्दोलनमा आउनुपरेको तर्क गरेका छन् ।
उनले अहिलेको परिस्थितिमा कक्षा १२ को परीक्षा केही समय रोक्न नै उपयुक्त हुने जिकिर गरेका छन् । प्रधानाध्यापक, शिक्षक र कर्मचारी उक्त परीक्षामा सहभागी नहुने निर्णय आफूहरूले गरिसकेको उनले सुनाए । उनले अहिलेको समस्या समाधान भएपछि द्रुत गतिमा बढीभन्दा बढी शिक्षकहरू उपस्थित भएर एसइईको कपी परीक्षण गरिने र अन्य शैक्षिक गतिविधिलाई अघि बढाउने उल्लेख गरेका छन् ।
आफूहरूसँग विगतमा गरिएका सहमतिको पालना गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले विगत २० दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आइरहेका छन् ।