काठमाडौँ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले बजेट अधिवेशनबाट शिक्षा विधेयक ल्याउन अनिवार्य भएको बताएका छन् ।
उनले त्यसका लागि सरकारले विश्वास दिलाउने र आन्दोलनरत शिक्षकहरूले पनि सरकारलाई विश्वास गरेर काममा फर्किनुपर्ने बताए ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले यो बजेट अधिवेशनबाट शिक्षा र निजामती विधेयक ल्याउन अनिवार्य छ । आन्दोलनरत शिक्षकहरूले पनि सरकारलाई विश्वास गर्नु पर्यो, त्यसका लागि बरु निश्चित समयको अल्टिमेटम दिएर भए पनि शिक्षकहरू तत्काल कार्यस्थलमा फर्किनु बुध्दिमानी हुनेछ।’
सरकारले विधेयक ल्याउन चाडै गृहकार्य सुरु गर्नुपर्ने बताए । शिक्षकहरूको मागलाई संसदीय प्रक्रियामार्फत पुरा गर्ने कुरामा विश्वस्त हुन उनले आन्दोलनमा रहेका शिक्षकहरूलाई आग्रह गरेका छन् ।
सरकार र संसदले चाहेर पनि प्रक्रिया मिच्न नसक्ने बताउँदै पोखरेलले भने, ‘कानुन विनाको सम्झौता फेरी इतिहास मात्र हुनसक्छ, यतिको विषय शिक्षकसाथीहरु सबैले बुझ्नु भएकै छ।’