काठमाडौँ । नेपाल बार एसोसिएसनको केन्द्रीय समितिका लागि शनिबार भएको निर्वाचनको मतगणना थालिएको छ ।
देशैभरबाट मतपेटिका ल्याएर एसोसिएसनको केन्द्रीय कार्यालय रामशाहपथमा १ बजेदेखि मतगणना सुरु गरिएको हो । बारको अध्यक्षका लागि पाँच जना कानुन व्यवसायी प्रतिस्पर्धामा छन् ।
बारको अध्यक्षका लागि दुई वटा मुख्य प्यानल प्रतिस्पर्धामा छन् । सत्तारुढ दल एमाले र काँग्रेस निकटका कानुन व्यवसायीको संयुक्त प्यानल र प्रतिपक्षमा रहेका दल निकट कानुन व्यवसायीको छुट्टै प्यानल बनेको छ ।
सत्तारुढ दल निकट कानुन व्यवसायीहरूको प्यानलको नेतृत्व काँग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनबाट प्राध्यापक वरिष्ठ अधिवक्ता विजय मिश्रले गरेका छन् । जसलाई एमाले निकट कानुन व्यवसायीहरूको संगठन प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठन (एनडीएलए) पनि समर्थन गरेको छ ।
प्रमुख प्रतिपक्षी माओवादी निकटका कानुन व्यवसायीहरूको संगठन गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपीपीएलए) र रास्वपा समर्थित स्वतन्त्र कानुन व्यवसायी संगठनबीच गठबन्धन भएको छ ।