काठमाडौँ । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारागार भैरहवा पुर्याइएको छ ।
शुक्रबार राति आफ्नै निवास काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एयरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारागारमा रहने छन् ।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।