काठमाडौँ। काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आम शैक्षिक हडताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भोलि चैत २५ गतेदेखि शैक्षिक हडताल घोषणा गरिएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
यसैक्रममा उनीहरूले चैत २० गतेदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।
नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको विज्ञप्तिमा लेखिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौँको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरूलाई आग्रह गर्दछौँ ।’
यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ । महासंघले आन्दोलनको अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरेको छ ।
