काठमाडौँ । ईन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ ।
भिषाखापटनममा आइतबार सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै दिल्ली ४ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
आफ्नो पहिलो खेलमा दिल्लीले लखनउ सुपर जाइन्ट्लाई एक विकेटले हराएको थियो । रोएल च्यालेन्जर्स बेंगलुरुसँग समान चार अंक भए पनि रनरेटमा पछि पर्दै दिल्ली दोस्रो स्थानमा रहेको हो । तीन खेलमा २ अंकमात्र भएको हैदरावाद भने सातौँ स्थानमा छ ।
हैदरावादले दिएको १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा फाफ डू प्लेसिसले २७ बलमा अर्ध शतक प्रहार गरे । अभिषेक पोरेल ३४ रनमा नटआउट रहँदा ज्याक फ्रेसर म्याकग्रुकले ३८ रनको योगदान गरे ।
हैदरावादका लागि जिसम अन्सारीले तीन विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको हैदरावाद १८.४ ओभरमा १६३ रनमा अलआउट भएको थियो । अनिकेत वर्माले ४१ बलमा ७४ रन बनाए । हेन्रिच क्लासेनले ३२ र ट्रेडिस हेडले २२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
दिल्लीका लागि मिचेल स्टार्सले ३.४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर ५ विकेट लिए । कुलदीप यादवको नाममा ३ विकेट रहँदा मोहित शर्माले एक विकेट झारे ।