नेपालको काखमा बसेर हिमालको शिर ठाडो देख्दा, बुद्धको शान्त मुस्कान हेर्दा वा पशुपतिनाथको अगाडि शिर झुकाउँदा मनमा एउटा अनौठो तरङ्ग उठ्छ । यो देश केवल पहाड र फाँटको सुन्दर चित्र होइन, यो त आस्थाको जीवन्त क्यानभास हो, जहाँ हरेक पाइलामा इतिहास बोल्छ, हरेक मन्दिरमा भक्ति गुन्जिन्छ । पशुपतिनाथको घण्टको मधुर आवाज होस् वा लुम्बिनीको शान्त गुम्बामा बुद्धको सन्देश, जनकपुरको मिथिला रङ्ग होस् वा मुक्तिनाथको १०८ धाराको पवित्र जल, यी सबैले नेपाललाई धार्मिक पर्यटकको लागि स्वर्ग बनाउँछन् । तर यो स्वर्गको ढोका विश्वसामु कति खुल्यो? यो प्रश्नले हामीलाई सोच्न बाध्य बनाउँछ ।
सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा भारतको प्रयागराजमा भएको महाकुम्भले हामीलाई एउटा ठूलो पाठ सिकायो । त्यहाँ ४० करोड भक्तजन आउने अनुमान थियो, तर टाइम्स अफ इन्डिया (मार्च २०२५) का अनुसार ६७ करोडले गङ्गा स्नान गरे । नेपालबाट पनि लाखौँ तीर्थालु त्यहाँ पुगे । यो समागमले आस्थाको शक्ति त देखायो नै, साथै अर्थतन्त्रमा ठूलो उछाल पनि ल्यायो । होटेलहरू भरिए, सडकमा व्यापार फस्टायो, रोजगारी बढ्यो । अयोध्यामा राम मन्दिर बनेपछि त्यहाँको कायापलट भयो, गल्लीहरूमा चहलपहल, दुकानहरूमा रौनक । काशी विश्वनाथ कोरिडोरले पनि यही कथा दोहोर्याउँछ । विदेशी लेखक नोगा कोलिन्स–क्रेनरले एनाल्स अफ टुरिज्म रिसर्च (२०२१) मा लेख्छिन्, “धार्मिक पर्यटन आज केवल आस्था होइन, यो अर्थतन्त्र र संस्कृतिको मेरुदण्ड बनेको छ ।” नेपालसँग यस्तै सम्भावना छ, तर हामी किन पछाडि छौँ? आउनुहोस्, यो कथालाई अलि गहिराइमा हेरौँ ।
नेपालका धार्मिक सम्पदाहरू कुनै रत्नभन्दा कम छैनन् । पशुपतिनाथमा महाशिवरात्रिको मेला लाग्दा लाखौँ भक्तजनको घुइँचोले बागमती किनार गुन्जिन्छ । यहाँको मृगस्थलीको किंवदन्ती सुन्नुभयो? भनिन्छ, महादेव हिरण बनेर यहाँ रमाएका थिए । यो कथाले भारत, श्रीलंका, थाइल्यान्ड र यहाँसम्म कि चीनका हिन्दुलाई पनि लोभ्याउँछ । लुम्बिनी त बुद्धको जन्मभूमि हो, जहाँ थाई, जापानी र चिनियाँ गुम्बा र माने चक्रले विश्वभरका बौद्ध अनुयायीलाई बोलाउँछन् । २०२३ मा यहाँ ९ लाखभन्दा बढी पर्यटक आए, २९.५% भारतीय र ९.८% अन्य देशका (नेपाल पर्यटन बोर्ड) । जनकपुरमा सीताको जन्मभूमिको कथा छ, जहाँ विवाह पञ्चमीको रङ्गले मिथिला संस्कृतिलाई जीवन्त बनाउँछ । मुक्तिनाथको १०८ धारा र हिमालको काखमा बुद्ध र शिवको सङ्गमले हिन्दु र बौद्ध दुवैको मन जित्छ । हलेसीको गुफा, पाथीभराको शक्ति, स्वयम्भू र बौद्धनाथको शान्ति, यी सबैले नेपाललाई अनुपम बनाउँछन् । तर यी ठाउँहरूको कथा विश्वसामु कति पुग्यो? हामीले सोच्नुपर्ने बेला आएको छ ।
विश्व बजार हेर्दा, धार्मिक पर्यटनको सम्भावना अथाह छ । विश्वको १५% जनसङ्ख्या हिन्दु छन् । नेपालमा ८१% हिन्दु र ८% बौद्ध छन्, भारतमा ८०% हिन्दु र १% बौद्ध । मौरिसस, फिजी, भुटान, श्रीलङ्कामा हिन्दुको राम्रो उपस्थिति छ । बौद्ध प्रभाव हेर्दा थाइल्यान्ड (९३%), म्यानमार (९०%), श्रीलंका (६९%) र चीन (३३%) मा ठूलो समुदाय छ । सन् २०२४ मा १० करोड चिनियाँ पर्यटकले विश्व भ्रमण गरे, तर नेपालमा जम्मा १.१५ लाख मात्र आए (क्तबतष्कतब र नेपाल पर्यटन बोर्ड) । यी देशहरू हाम्रा छिमेकी हुन्, उनीहरूको आस्था हाम्रा तीर्थस्थलसँग जोडिन्छ । तर सहज पहुँच र प्रचारको अभावले हामी यो बजार गुमाउँदै छौँ । नेपालको धार्मिक इतिहास पनि कम रोचक छैन । सत्ययुगमा “सत्यवती”, त्रेता युगमा “तपोवन”, द्वापर युगमा “मुक्ति सोपान” भनिएको यो भूमि ऋषिमुनिको तपोभूमि हो । कौशिक, वाल्मीकि, मञ्जुश्री यहाँ आए । नेपाल माहात्म्य ले मृगस्थलीलाई महादेवको क्रीडास्थल भन्छ । यस्ता कथाले पर्यटकको मन लोभ्याउँछन्, तर हामीले सुनाउन जान्नुपर्छ ।
विश्वमा धार्मिक पर्यटनले गरेको चमत्कार हेर्यो भने भारतको अयोध्यामा राम मन्दिर खुलेपछि वार्षिक ५ करोड पर्यटकको लक्ष्य छ (इन्डिया टुँडे, २०२४) । साउदी अरबको हज र उमराहले मक्का–मदिनाबाट वार्षिक १२ अर्ब डलर कमाउँछ (साउदी गजेट, २०२४) । थाइल्यान्डका बौद्ध मन्दिरले ४ करोड पर्यटक तान्छन्, जसले जीडीपीको ११% योगदान दिन्छ (थाइल्यान्ड टुरिजम, २०२३) । इटालीको भ्याटिकन सिटीले ६० लाख क्रिस्चियन तीर्थालु ल्याउँछ (युरोमोनिटर, २०२४) । विदेशी लेखक जोसेफ अल्भारेज गार्सियाले इन्टरनेशनल जर्नल अफ रिलिजियस टुरिज्म एण्ड पिलग्रिमेज (२०१८) मा लेख्छन्, “धार्मिक पर्यटन आज विश्वव्यापी अर्थतन्त्रको ठूलो हिस्सा बनेको छ र यो क्षेत्रको वृद्धि तीव्र छ ।” नेपालमा पनि २०२३ मा पशुपतिनाथमा १ लाख १८ हजार विदेशी पर्यटक आए, लुम्बिनीमा ९ लाख पुगे । तर पूर्वाधार र प्रचारको कमीले हामी पछाडि छौँ । पशुपतिनाथमा सफा धर्मशाला छैन, मुक्तिनाथसम्म सडकको हालत बिजोग छ, लुम्बिनीमा हवाई पहुँच सीमित छ । हामीसँग सम्पदा छन्, तर उपयोग गर्न किन सकेनौँ?
“नेपाल नपुगी पुण्य पाइँदैन” भन्ने नारा केवल शब्द होइन, यो हाम्रो सपना हो । यसलाई साकार पार्न केही गर्नुपर्छ । प्रचारमा जोड दिनुपर्छ, भारत, थाइल्यान्ड, श्रीलंका र चीनका हिन्दु–बौद्ध समुदायलाई लक्षित गरेर डिजिटल कन्टेन्ट बनाऔँ । टेस्लाले ट्रम्पमार्फत प्रचार गरेको उदाहरण (सीएनएन, २०२५) बाट सिक्न सकिन्छ । चिनियाँ पर्यटकलाई लुम्बिनीको महत्त्व बुझाउन चिनियाँ भाषामा प्याकेज र सांस्कृतिक कार्यक्रम राखौँ । सम्पदाको हेरचाह गर्ने सम्बन्धित कार्यालयले नै फेसबुक तथा ट्वीटर जस्ता सामाजिक सञ्जालबाट जानकारी प्रदान गरौँ । पूर्वाधारमा पशुपतिनाथमा सुविधायुक्त धर्मशाला, लुम्बिनीमा पाँचतारे होटेल, मुक्तिनाथसम्म सहज सडक बनाऔँ । हवाई पहुँच बढाउन बेइजिङ, सांघाई, थाइल्यान्ड र श्रीलङ्काबाट सिधा उडान थपौँ । भैरहवा र पोखरा विमानस्थललाई सक्रिय बनाऔँ, नेपाल एयरलाइन्सको गुणस्तर सुधारौँ । भिसा प्रक्रिया सरल बनाऔँ, भारतका सहरबाट सिधा बस सेवा जोडौँ । पशुपति, लुम्बिनी, जनकपुर र मुक्तिनाथलाई जोडेर “पवित्र सर्किट” बनाऔँ, जसले पर्यटकलाई एकै पटक चार ठाउँको दर्शन गराउँछ ।
धार्मिक पर्यटनले हाम्रो अर्थतन्त्रको ढोका खोल्छ । भारत, साउदी, थाइल्यान्डले यो बाटोबाट समृद्धि कमाए । नेपालमा प्रति पर्यटक खर्च कम छ (पर्यटन मन्त्रालय), किनभने हामीसँग आकर्षक प्याकेज छैन । पशुपति दर्शनसँगै बागमती सफाइको अनुभव, लुम्बिनीमा बौद्ध उत्सव, जनकपुरमा मिथिला कलाको रौनक बेचौँ । मृगस्थलीको कथा, लुम्बिनीको शान्ति र जनकपुरको रङ्गले पर्यटकलाई लोभ्याउँछ । मिति २०८१ चैत्र २ गते थाइल्यान्डमा भएको एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेज्यूले भन्नुभयो, “हरेक विदेशमा बस्ने नेपाली हाम्रा अनौपचारिक राजदूत हुन्” । यो साँचो हो । हामी सबैले यो सन्देश फैलाऔँ । सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर प्रचार, पूर्वाधार र सहजतामा लगानी गरौँ ।
नेपालको धार्मिक पर्यटन केवल यात्रा होइन, यो त आस्थाको मिठास हो, संस्कृतिको सुगन्ध हो । पशुपतिनाथको घण्टले विश्वलाई बोलाओस्, लुम्बिनीको शान्तिले सबैलाई जोडोस्, जनकपुरको रङ्गले मन रँगाओस् । अब ढिला नगरौँ— “नेपाल नपुगी पुण्य पाइँदैन” लाई विश्वको काखमा पुरÞ्याऔँ । तपाईँलाई के लाग्छ, यो सपनालाई हामीले पखेटा दिन सक्छौँ कि सक्दैनौँ?
लेखक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका शाखा अधिकृत हुन् ।