काठमाडौँ । साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.४३ अंकले बढेको छ । बुधबारको तुलनामा १.५८ प्रतिशतले बढेर बिहीबार समग्र नेप्से परिसूचक २ हजार ६ सय ६३.३० बिन्दुमा उक्लेर बन्द भएको छ । बुधबार नेप्से ३९ अंकले बढेको थियो । पछिल्ला दुई कारोबार दिन (बुधबार र बिहीबार) मा नेप्से करिब ८० अंकले बढेको छ ।
तर, यो साताका पाँच सेयर कारोबार भएकामा तीन दिन नेप्से बढ्यो, दुई दिन घट्यो । तीन दिनमा १०६.६६ अंकले बढेको नेप्से दुई दिनमा ११२.६७ अंकले घट्यो । गत बिहीबार २ हजार ६ सय ६९.३१ अंकमा रहेको नेप्से यो बिहीबार २ हजार ६ सय ६३.३० बिन्दुमा छ । यसरी हेर्दा गत बिहीबारकै बराबर पुग्न करिब ६ अंक कम हो । उक्त दिन कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्यो भने १६ वटाको घट्यो ।
कुल ५५ हजार ४ सय ४२ पटकको कारोबारमा ९७ लाख ७२ हजार १ सय ९६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । बुधबार ४ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेको उच्च वृद्धिमा टेवा पुगेको हो ।