काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल विपक्षीको मोर्चामा नभएको बताएका छन् ।
प्रमुख प्रतिपक्ष माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीको संयुक्त बैठक बसेको थियो । तर संसद्मा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षीबीच मत मिलेको थियो ।
घिसिङलाई हटाएको विषयमा विरोधमा संसद्मा एक ठाउँमा उभिए पनि राप्रपा विपक्षीको मोर्चामा नभएको लिङ्देनले बताए । ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा राम्रो काम गरिरहेका बेला कुलमान घिसिङलाई हटाएर सरकारले राष्ट्र सेवकमाथि ज्यादती गरेको हाम्रो निष्कर्ष हो,’ उनले भने, ‘हामी त्यसको विरोधमा संसद् अवरुद्ध गरेका हौँ । यसमा विपक्षीको मत मिलेको भए पनि हामी विपक्षीको मोर्चामा छैनौँ ।’
माओवादी, एकीकृत समाजवादीसहित चार दलको समाजवादी मोर्चाले संघीय गणतन्त्रको पक्षमा बिहीबार प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यसविपरीत राप्रपाले मंगलबार राजतन्त्रका पुन:स्थापना, हिन्दूराष्ट्रको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । यही विषयमा विचार नमिल्दा विपक्षीको मोर्चामा राप्रपा सहभागी नभएको हो ।