काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध कोशीले ९ विकेटको शानदार जित निकालेको छ ।
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा गण्डकीले दिएको मात्र ३२ रनको झिनो लक्ष्य कोशीले ८ दशमलव २ ओभरमा एक विकेट गुमाउँदै जारी लिगमा पहिलो जित निकाल्यो ।
कोशीका लागि शकिब हकले नटआउट १६ रन बनाउँदा चिराग शाहले १० तथा सोनु अन्सारीले नटआउट ४ रन बनाए । बलिङतर्फ गण्डकीका सुवास भण्डारीले एक विकेट लिए ।
आज कोशीले गण्डकीविरुद्ध विशाल जित मात्र निकालेन, अघिल्लो सिजनमा गण्डकीले दिएको चोटको बदलासमेत लिएको छ ।
सन् २०२४ को जनवरी २१ मा मुलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कपमा कोशी गण्डकीविरुद्ध १६७ रनको लक्ष्य पछ्याउने क्रममा २५ रनमै अलआउट भएको थियो ।
हालसम्मका प्रधानमन्त्री कपको संस्करणमा २६ रनको लक्ष्य नै अहिलेसम्मको सबैभन्दा सानो लक्ष्य थियो । आज कोशीले पहिले फिल्डिङका क्रममा गण्डकीलाई ३१ रनमा अलआउट गर्दै झिनो लक्ष्य सेट गर्यो । र जवाफी ब्याटिङ गर्दा ९ विकेटले हरायो ।
पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश २० दशमलव ४ ओभरमा अलआउट हुँदै ३१ रनमा समेटियो ।
आजको खेलमा कोशीका विपिन महतोले कसिलो बलिङ गर्दै ६ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४० बल डट राख्दै १७ रन खर्चिए । यस्तै फिर्दोश अन्सारीले ३ र दीपेश कँडेलले एक विकेट लिए ।
गण्डकीका लागि वन्श क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन जना ब्याटर शून्य रनमै आउट भएका थिए ।