काठमाडौँ । आपराधिक विश्वासघात र ठगीको मुद्दा खेपेका पाँच जना नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)बाट निष्कासित भएका छन् ।
इस्कोनले एक विज्ञप्ति जारी गर्दै पाँच जनालाई निष्कासन गरेको जनाएको छ । संघको विज्ञप्तिमा उल्लेख गरिए अनुसार निष्कासनमा पर्नेहरूमा बसन्त पराख गुरुङ (भक्तिसिद्धान्त दास), शैलेन्द्र यादव (सिद्धस्वरुप दास), मनिष राई (विपिन बिहारी दास) र खगेन्द्र बहादुर बस्नेत (खगराज अच्युत दास) छन् ।
उनीहरूले इस्कोनको ट्रेडमार्क समेत दुरुपयोग गरेर मोरङ, सुनसरी, झापा, सिरहा, पश्चिम नवलपरासीलगायतका जिल्लाहरूमा गैह्रकानूनी काम गरेको इस्कोनले उल्लेख गरेको छ ।
उनीहरुविरुद्ध आपराधिक विश्वासघात र ठगीको कसुरमा समेत मुद्दा चलेकाले निष्कासन गरेको उल्लेख गरिएको छ । उनीहरूले इस्कोनको ट्रेडमार्क चोरेर यस्तै प्रकृतिको अर्को संस्था खडा गरी अवैध गतिविधि गरेको आरोपमा ‘इस्कोन प्रभुपाद’विरुद्ध मुद्दा अदालतसम्म पुगेको छ । २०४७ सालमा नेपालमा दर्ता भएको विश्वव्यापी इस्कोनको नक्कल गर्दै जनमानसमा भ्रम सिर्जना गरेको आरोप प्रभुपादमाथि छ ।