काठमाडौँ । नेकपा माओवादी केन्द्र निकटका मजदुरहरूले व्यानरबाट मजदुर शब्द हटाउन माग गरेका छन् । माओवादीको तराई मधेश जनजागरण अभियानका क्रममा आज विराटनगरमा आयोजित अन्तर्क्रियामा अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध मजदुरहरूले पार्टीको व्यानरबाट संसारका मजदुर एक हौँ भन्ने नारा हटाउन माग गरेका हुन् ।
पार्टीले मजदुरहरूलाई तल्लो स्तरको व्यवहार गर्ने, पार्टीका कुनै पनि समितिहरूमा सम्मानजनक सहभागिता नगराउने तर, मजदुरका नाममा राजनीति मात्रै गर्ने गरेको उनीहरूको गुनासो छ ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध मजदुर जगत तामाङले पार्टीको ब्यानरमा संसारका मजदुर एक हौँ भन्ने लेखेको देख्दा असजिलो हुन थालेको बताए । तामाङले श्रमिक मजदुर भन्ने बित्तिकै पार्टीले हेर्ने दृष्टिकोण नै तल्लो स्तरको रहेको गुनासो गरे ।
अर्का सहभागी मो।जागिरले मजदुरको हक हितका लागि काम गर्ने भनिने पार्टीले पार्टीका स्थानीयदेखि केन्द्रीय समितिमा किन मजदुरको प्रतिनिधित्व गराएन ? भन्दै प्रश्न गरे ।
यस्तै ज्ञानबहादुर कार्कीले जनयुद्धदेखि मजदुरहरूले पार्टीका लागि योगदान गरेको स्मरण गराए । उनले पार्टी निर्माणमा धेरै मजदुरहरूले बलिदान दिए पनि मजदुर र उसका परिवारलाई समस्या पर्दा पार्टीले नहेरेको गुनासो गरे । कार्यक्रममा विभिन्न माग राख्दै मजदुरहरूका तर्फबाट ज्ञापन पत्रसमेत बुझाइएको छ ।
पार्टी नेतृत्वलाई बुझाइएको ज्ञापन पत्रमा पार्टीका हरेक तहमा कम्तीमा १० प्रतिशत मजदुरको प्रतिनिधित्व सुनिश्चित गर्न, सबै मजदुरलाई अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न, प्रदेश स्तरमा छुट्टै मजदुर अस्पतालको व्यवस्था गर्नुपर्ने लगायतका माग राखिएका छन् ।