काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपाल एक स्थान कमसहित १०७ औँ स्थानमा झरेको छ।
गत वर्ष ३५ अंकसहित १०८ औँ स्थानमा रहेको नेपाल यस वर्ष एक अंक कम भएर ३४ अंकले १०७ औँ स्थानमा पुगेको हो। ५० भन्दा कम अंक पाउने मुलुकहरूलाई भ्रष्टाचारले व्याप्त देश मानिने भएकाले नेपाल पनि उक्त सूचीमै परेको छ।
नेपालको भ्रष्टाचार स्थिति
नेपालमा भ्रष्टाचारको अवस्था मापन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न ६ वटा क्षेत्रमा सर्वेक्षण गर्ने गर्दछ। पछिल्ला १२ वर्षको अवधिमा नेपालको सीपीआई स्कोर र वरीयता हालसम्मकै उच्च देखिएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार भ्रष्टाचार मुलुकको प्रमुख समस्या रहेको छ, जसले शासन व्यवस्थामा गम्भीर चुनौती सिर्जना गरिरहेको छ।
कसरी तयार गरिन्छ सीपीआई
ट्रान्सपरेन्सी इन्टरनेशनलले आफैँ सर्वेक्षण नगरी विभिन्न संस्थाहरूको अध्ययनलाई आधार मान्छ। भ्रष्टाचार, सुशासन र घूसखोरीसम्बन्धी सर्वेक्षण तथा प्रश्नावलीको विश्लेषण गरेर भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गरिन्छ।
